पर्टीभित्र अन्तर्घात गर्ने १७ जना निष्काशित

बैतडी, साउन ३ । स्थानीय तहको निर्वाचनमा जिम्मेवार पदमा बसेर पार्टीलाई अन्तर्घात गर्ने १७ जनालाई नेकपा (एमाले) बैतडीले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ ।

बैतडीमा सोमबार राति सम्पन्न एमाले जिल्ला कमिटीको बैठकले जिल्ला कमिटी सदस्य दलबहादुर ऐर, नागी धानुक, नरेन्द्र भट्ट, राजेश्वरी कँुवर, कृष्ण सावद, प्रकाश सावद, जानकी भाट, भगिरथ कुँवर, प्रदीप बोहरा सुबोध, तस्बिर बोहरालाई साधारण सदस्यता समेत नरहने गरी कारबाही गरेको जिल्ला सचिव, लीलाधर भट्टले जानकारी गराए । उक्त बैठकले निर्वाचनको समीक्षा गर्दै पार्टीभित्र बसेर अन्तर्घात गर्नेहरुलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्ने र सोभन्दा तलसम्म पनि पार्टीविरुद्ध काम गर्ने नेता कार्यकर्ताको छानबिन गर्न प्रत्येक पालिका प्रमुखको अध्यक्षतामा बैठक बसाएर वडा स्तरबाट निर्णय गरी साउन १५ गतेभित्र जिल्लामा पठाउने निर्णयसमेत गरेको छ ।

यस्तै, पूर्व अञ्चल सल्लाहकार सदस्य नरबहादुर विष्ट, पूर्व जिल्ला उपसचिव मोहन बराल, जिल्ला सल्लाहकार शंकरसिंह भाट, पार्टी स्कूल विभाग सदस्य लोकराज भट्ट, अखिल नेपाल महिला संघका जिल्ला कोषाध्यक्ष चन्द्रकला सावद, जिल्ला सदस्य उत्तरा अवस्थी र शिक्षक संगठन सहसचिव गणेश बोहरालार्ई समेत कारबाही गरिएको भट्टले बताए । यसैबीच, बैठकले गोरखबहादुर चन्द र कर्णबहादुर कँुवरलाई जिल्ला कमिटीमा मनोनयन गरेको छ ।

नेकपा (एमाले) जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख अतिथि केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज पुरनसिंह दयाल, प्रदेश कमिटी सदस्य दामोदर भण्डारी, परमानन्द भट्ट, माया भट्ट, पूर्व जिल्ला कमिटी अध्यक्ष नरेन्द्र विष्ट, महादेव भट्ट, नरेश विकलगायत नेताहरुको उपस्थिति रहेको थियो ।