नेपालको शिक्षा क्षेत्रमा सहयोग बढाउन अनुरोध

काठमाडौँ, कात्तिक १५ । दक्षिण कोरियाबाट नेपाललाई विकास, अध्ययन र तालीम तथा सूचना प्रविधिका क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

आज नेपालका लागि दक्षिण कोरियाका राजदूत योङ सिक पार्कसँग सिंहदरबारस्थित मन्त्रालयका भएको भेटवार्तामा उनले ती सहयोगले विद्यालय शिक्षादेखि उच्च शिक्षासम्मको विकासका लागि मद्दत प्राप्त भएको बताए ।

दुई देशबीचको सम्बन्ध विशिष्ट प्रकृतिको रहेको बताउँदै मन्त्री पोखरेलले नेपाली युवालाई कोरियामा अध्ययन तथा रोजगारीको अवसर मिल्नु र अफिसियल डेभलपमेन्ट एसिस्टेन्ट अन्तर्गत नेपालको बहुआयामिक विकासमा सहयोग पुगेको बताए ।

हालै झापा र महोत्तरीमा कार्यान्वयन गर्ने गरी विद्यालयको सिकाइ वातावरण सुधार्न र बहु प्राविधिक शिक्षालय स्थापनामा कोरियाली सहयोगमा दुई परियोजनाका लागि कोरिया सरकारसमक्ष प्रस्ताव पेस गरिएको उनले जानकारी गराए ।

संविधान र संघीयतासँगै मुलुक समृद्धितर्फ उन्मुख भएको जनाउँदै मन्त्री पोखरेलले समृद्धिको अभियानमा कोरियाजस्तो मुलुकको सहयोग कोशेढुङ्गा हुने आशा व्यक्त गरे । उनले यही कात्तिक २९ गतेदेखि मङ्सिर २ गतेसम्म सियोलमा हुने विश्व सूचना प्रविधि नेतृत्व सम्मेलन’ मा भाग लिन आफूले निमन्त्रणा स्वीकार गरेको पनि जनाएका छन् ।

राजदूत पार्कले आफूले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाका विकासका लागि नेपाल सरकारले लिएको नीति सकारात्मक रहेको भन्दै यस क्षेत्रमा थप मद्दत गर्ने विश्वास जनाए ।