काठमाडौँ, कात्तिक १५ । जापानमा जान चाहने नेपालीहरुका लागि खुशीको खबर आएको छ । जापान जानका लागि पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा मोग सर्भिस प्रालिका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतिले जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था गर्न लागेको जनाए ।
कागजबाट लिखित परीक्षा दिँदा नतिजाका लागि तीन महीना पर्खनुपर्नेमा अनलाइनबाट परीक्षा दिनेबित्तिकै थाहा पाउन सकिन्छ । सोको प्रमाणपत्र १० दिनमा लिन पाइनेछ ।
परीक्षामा उपयुक्त लब्धाङ्क नआएको एक हप्तापछि अर्को परीक्षा दिन सकिने व्यवस्था गरिएको छ । जापानको न्याय मन्त्रालय र अध्यागमन विभागले मान्यता दिएको पिजेसीले सन् १९७६ देखि नै परीक्षा सञ्चालन गर्दै आएको छ । सोही संस्थासँग मोगले सहकार्य गरी परीक्षा सञ्चालन गर्न लागेको हो ।
विद्यार्थीबाहेकले पनि भाषा परीक्षा दिने पाउने मोगका प्रमुख कार्यकारी अधिकृत प्रजापतिले जनाएका छन् । परीक्षा शुल्क रु तीन हजार ५०० लाग्छ । परीक्षा अनलाइनबाट जति बेला पनि दिन सकिन्छ ।