भौतिक संरचनाको अभावमा कर्मचारी अलपत्र

डडेल्धुरा, साउन ३ । भौतिक संरचना हुन नसक्दा स्थानीय तहका कामकाजमा समस्या देखिएकोछ । स्थानीय तहको निर्वाचनपछि यही साउन १ गतेदेखि स्थानीय तहमै जिल्लास्तरका सरकारी कार्यालयले काम शुरु गर्न थाले पनि कार्यालय सञ्चालनका लागि भौतिक संरचना छैनन् ।

गाउँपालिकाबाटै सरकारी सेवा दिन खोजे पनि कार्यालय सञ्चालनका गर्नका लागि भौतिक संरचनाका अभावमा काम शुरु हुननसकेको भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताइन् । कार्यालय सञ्चालनका लागि न त सरकारी घर छ, न निजी घर । कार्यालय सञ्चालन त परै जाओस् कर्मचारीको आवासका लागि समेत घर भाडामा लिन नपाएको भट्टले बताएकी छिन् । जिल्लाबाट गएका सरकारी कार्यालयका कर्मचारी गाउँपालिकाको सानो घरमै बस्ने गरेका छन् । कार्यालय सञ्चालन गर्नका लागि पहिला भवनको खोजी गरेर मात्रै पठाइनुपर्ने भट्टले बताइन् । अमरगढी नगरपालिकासहित अन्य छ स्थानीय तहमा भवनलगायत भौतिक संरचना हुन नसक्दा कार्यालय सञ्चालन गर्नको लागि समस्या हुने गरेको छ । भवन नहुँदा सेवाग्राहीलाई सेवा दिनसकिएको छैन ।

सरकारले स्थानीय तहमै अधिकांश सेवा दिनका लागि कर्मचारी पठाए पनि कार्यालय स्थापनाका लागि भवन नभएकाले कार्यालय व्यवस्थापन हुनसकेको छैन । यति मात्रै नभई स्थानीय तहमा गएका कर्मचारीलाई आवासका लागि समेत समस्या भएको छ ।