सांकृतिक सम्पदाको पुनःनिर्माण तीव्र गतिमा हुँदै

काठमाडौँ, कात्तिक १८ । २०७२ सालमा गएको भुकम्पका कारण क्षति पुगेका कतिपय सांस्कृतिक सम्पदाहरुले पुनः निर्माणको गति लिन सकेका छैनन् ।

हनुमानढोका दरबार क्षेत्रमा रहेको सांस्कृतिक सम्पदाको पुनःनिर्माणको काम तीव्र रूपमा अगाडि बढिरहेको छ । यहाँ झण्डै तीन दर्जन सम्पदाहरु रहेका छन्, जसमा भूकम्पका कारण १० सम्पदा पूर्ण रूपमा क्षति हुन पुगे भने अन्यमा सामान्य क्षति पुगेको थियो ।

भूकम्पका कारण क्षति पुगेका सम्पदामध्ये हालसम्म गद्दी बैठकको पुनःनिर्माण सकिएको छ । सो स्थानमा सबैभन्दा महत्वपूर्ण मानिने नौतले दरबार र काष्ठमण्डप पुनःनिर्माण भइरहेका छन् भने माजु देग पुनःनिर्माणको शुभारम्भ गत सोमबार भएको छ ।

कुमारी घरको भूकम्पीय संवेदनशीलताको प्राविधिक परीक्षण तथ्य विश्लेषण भइरहेको छ । हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलका अनुसार भूकम्पका कारण क्षति पुगेका अन्य सम्पदा पुनःनिर्माणको प्रक्रियामा रहेका छन् ।

काष्ठमाण्डप आगामी तीन वर्षमा पुनःनिर्माण सम्पन्न हुन्छ भने माजु देग पुनःनिर्माण दुई वर्षमा सम्पन्न गरिने योजनाको साथ काम भइरहेको छ– उनले भने । केही सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको र केही पुनःनिर्माणको अवस्थामा रहेकाले अवलोकन गर्न आउने पर्यटकको संख्या पनि बढेको छ ।

यस क्षेत्रमा घुम्न आउने सार्क राष्ट्रका पर्यटकले प्रवेश शुल्कवापत रु १५० तिर्नुपर्छ भने सार्कबाहेकका अन्य राष्ट्रका पर्यटकले रु एक हजार तिर्नुपर्नेछ ।

रु ४९ करोड हनुमानढोका दरबार क्षेत्रमा रहेका सम्पदाहरुको पुनःनिर्माणका लागि बजेट छुट्याइएको कामपाको भौतिक पूर्वाधार महाशाखाले बताएको छ ।