काठमाडौं, कात्तिक १७ । महानगरीय अपराध महाशाखाका टोलीले गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचन बस्नेतलाई काठमाडौंबाट पक्राउ गरेको छ ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुरमा गौचन लगायत अन्यको हत्यामा समीरमानकी श्रीमती मायाको पनि संलग्नता रहेको पाएपछि महाशाखाले उनलाई पनि पक्राउ गरेको हो ।
गौचन हत्याको आरोपमा अपराध महाशाखाको टोलीले कात्तिक १२ गते लोप्साङ लामा, अम्बर बहादुर राना र रोशन बुढाथोकीलाई पक्राउ गरेपछि उनको संलग्नता खुलेको देखिएको हो ।
पक्राउ परेकाले अदालतमासमेत हत्यामा समीरको श्रीमतीकोसमेत संलग्नता भएको बयान दिएका थिए । उनीहरुको बयानको आधारमा जिल्ला अदालत काठमाडौं पक्राउ पूर्जी लिएर उनलाई पक्राउ गरेको जनाइएको छ ।
समीरमानकी श्रीमतीको गौचन हत्या, गुण्डा नाइके दावामा लामामाथि गोली प्रहार, युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्या लगायतमा संलग्न रहेका पाएपछि पक्राउ गरिएको हो ।
उनले दावालाई गोली हान्ने बेलामा काठमाडौंको सितापाइलामा सुटर अम्बर बहादुर रानालाई पेस्तोल दिइएर सहयोग गरेकी थिइन् । पछि दावालाई गोली हानेपछि आफूले समीरको श्रीमतीलाई पेस्तोल फिर्ता गरेको अम्बरले बयानका क्रममा जनाएका छन् ।
गौचनलाई गोली हान्ने बेलामा पनि समीरकै श्रीमतीले पेस्तोल दिएको र आफूले गोली हानेको अम्बरको भनाइ छ । पति समीरमान भने अहिले जेलमै छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई भारतबाट पक्राउ गरेर मंसिर १७ गते सार्वजनिक गरेको थियो ।