तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्न को को पुगे अस्पतालमा

काठमाडौँ, कात्तिक १८ । वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व पद्मरत्न तुलाधरको उपचारको क्रममा आज अपराह्न १२ः४५ मा ७८ बर्षको उमेरमा निधन भएको छ ।

मृतक तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्नका लागि विभिन्न राजनीतिक दलका नेता नर्भिक अस्पतालमा पुगेका छन् । नेकपाका वरिष्ठ नेता नेपालले तुलाधरले प्रजातन्त्र पुनःस्थापना, मानवाधिकार र शान्ति प्रक्रियामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिन पद्मरत्नले खेलेको भूमिका कहिल्यै पनि भुल्न नसकिने पूर्वप्रधानमन्त्री नेपालको भनाइ छ । नेतृ हिसिला यमीसहित अस्पताल पुगेका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले तुलाधार लोकतान्त्रिक आन्दोलनका खम्बा, तथा सबैका आदरणीय आदर्शवान र निष्ठावान् व्यक्तित्व भएको बताए ।

मस्तिष्काघात भएर अस्पताल भर्ना भएका उनको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको हो । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका निभाएका पूर्व स्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान दिएका छन् ।

उनले आफुलाई पत्रकार तथा साहित्यकारको रुपमा पनि चिनाएका थिए । स्व तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको अन्तिम संस्कार सोमबार शोभाभगवतीमा गरिने जानकारी गराइएको छ ।