‘फाल्गुनन्दको अभियान आज पनि उत्तिकै सान्दर्भिक’

काठमाडौँ, कात्तिक २५ । फाल्गुनन्दको १३४औँ जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गर्दै फाल्गुनन्दले समाज सुधारको लागि जारी गरेको घोषणापत्र आज पनि उत्तिकै सान्दर्भिक भएको बताएका छन् । राष्ट्रि«य विभूति तथा समाज सुधारक फाल्गुनन्दले सामाजिक विकृति, विसङ्गति हटाउन थालेको अभियान आज पर्यन्त स्मरणीय रहेको प्रम ओलीले बताएका हुन् ।

प्रम ओलीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ–फाल्गुनन्दले वि.सं १९८८ वैशाख २४ गते पाँचथरको लोब्रेकुटीबाट जारी गरेको समाज सुधारको सात बुँदे घोषणापत्र आज पनि उत्तिकै सान्दर्भिक छ । मलाई लाग्छ त्यो घोषणापत्रले हाम्रो समाज सुधारका लागि ठूलो योगदान गर्यो ।

फाल्गुनन्दले समाज सुधारका लागि दिएको योगदानको सम्झना गर्दै प्रधानमन्त्री ओलीले आफू जन्मेहुर्केको समाजमा भएका बेथिति देखेपछि त्यसलाई सुधार गर्नेतर्फ फाल्गुनन्दको निरन्तर प्रयासको प्रशंसा गरेका छन् ।

फाल्गुनन्दले अहिंसात्मक अभियानसमेत सञ्चालन गरेको जसले समाजमा शान्ति कामय गर्न महत्वपूर्ण योगदान पुगेको प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओलीले किराँत धर्म, साहित्य आदिको प्रचारका लागि फाल्गुनन्दले गरेको खोज र अनुसन्धानको पनि प्रशंसा गरेका छन् ।

समाज सुधारक फाल्गुनन्दको योगदानको कदर गर्दै सरकारले २०६६ सालमा राष्ट्रिय विभूतिको घोषणा गरेको थियो । खासगरी किराँत धर्मवालम्बीहरुले फाल्गुनन्दलाई प्रेरक व्यक्तित्वको रुपमा समेत सम्मान गर्ने गर्छन् ।