नेपालगन्ज, श्रावण ३ । नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल विकास समितिले आपतकालीन सेवाका लागि शुल्क तोकेको कार्यप्रति तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्सको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आपतकालीन सेवाका लागि निर्धारण गरेको शुल्क बृद्धिको विरोध जनाउँदै तराई मानव अधिकार रक्षक सञ्जालका उप क्षेत्रीय प्रमुख आलम खानले बिज्ञप्ती जारी गर्दै हस्पिटलको कार्यप्रति असन्तुष्टी व्यक्त गरेका छन् । समितिको बैठकले आपतकालीन उपचारका लागि भर्ना हुनु अगावै बिरामीले २५ रुपैयाँको रसिद काट्नुपर्ने गरेको निर्णय तत्काल सच्याउन माग राखेको छ ।
नेपालको संविधानले प्रत्येक नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको ग्यारेन्टी गरिसकेको अवस्थामा पनि अस्पतालले आपतकालीन सेवाका लागि शुल्क निर्धारण गर्नु निन्दनीय कार्य रहेको भन्दै विरोध गरेको छ । उक्त बिज्ञप्तीमा नेपालको संबिधानको धारा ३५ द्वारा प्रदत्त स्वास्थ्य सम्बन्धी हकमा आघात पुर्याएको उल्लेख गरिएको छ । धारा ३५(१) ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन, भन्ने कुराको ग्यारेन्टी गरेको छ ।
निशुल्क स्वास्थ्य सेवा लिनबाट बन्चीत गर्ने गरी गरेको उक्त गैरसंबैधानिक निर्णयलाई तत्काल फिर्ता गरि जनताको निशुल्क स्वास्थ्य र आकस्मिक स्वास्थ्य सम्बन्धि अधिकार सुनिश्चित गर्न सम्बन्धित सबैमा बिज्ञप्तीद्वारा आग्रह गरिएको छ । यस्तै असार २८ गते नेपालगंज स्थित माँ जानकी अस्पतालमा डा. श्यामसुन्दर यादवमाथी हातपातको प्रयास तथा दुव्र्यवहार भएको र अस्पतालमा तोडफोड भएको घटना प्रति दुख व्यक्त गर्दै उक्त घटनाका विषयमा छानबिन गरी दोषी माथि कानुनी कारवाही गर्न समेत स्थानीय प्रशासन संग माग राखेको छ । साथै बन्द गरिएका अस्पतालहरुलाई तत्काल संचालनमा ल्याउन समेत आग्रह गरेको छ ।