काभ्रेपलाञ्चोक, कात्तिक २६ । मानवजाति र प्राणीको रक्षाका लागि देशलाई समृद्ध बनाउन आ–आफ्ना क्षेत्रबाट सक्रिय हुनुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् ।
काभ्रेपलाञ्चोकको बनेपा नगरमा श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा आयोजित नौदिने धर्म जागनी महोत्सव–२०७५ को उद्घाटन सभालाई आज सम्बोधन गर्दै उनले अन्तरिक्ष र जनताको रक्षा आजको चुनौती रहेको बताएका हुन् ।
उनले भने– प्लानेट र पिपुल्सको रक्षा आजको चुनौती हो, प्राणीको रक्षा गर्नु हामी सबैको दायित्व हो । मन्त्री बाँस्कोटाले अन्तरिक्षको रक्षाले विश्व मानवको जीवनचक्र चलिरहने र मानव रक्षाले अधिकारको सम्मान हुने बताए ।
अन्तरिक्ष नहुँदा प्रविधि र मानव जाति सङ्कटमा पर्छ, यसका लागि पनि मानवजातिको रक्षा प्रमुख आवश्यकता हो उनले भने ।
धर्म, संस्कृति र राजनीतिको लक्ष्य न्याय, समानता, प्रगति, सद्भाव, प्राणीजातिको रक्षा भएकाले विविधतामा एकता भएको नेपालमा रहनुमा गर्वित हुनुपर्नेमा जोड दिदै उनले नेपालमा जबर्जस्ती धर्म परिवर्तन गराउने घटना भइरहेकामा आपत्ति जनाए ।