ऐतिहासिक र धार्मिक महत्व बोकेको कात्तिक नाच आजदेखि शुरु

काठमाडौँ, कात्तिक २६ । दशैँ तिहार सकिएर र धान थन्क्याएर पाटनवासीले फुर्सदमा हुने समय पारेर सञ्चालन गरिने ऐतिहासिक र धार्मिक महत्व बोकेको पाटनको प्रसिद्ध कात्तिक नाच आजदेखि शुरु भएको छ ।

नाचको पहिलो दिन आज साँझ बाथ प्याँख नाच अन्तर्गतको सेव लायगु देखाइँदैछ । बाथ प्याँख(बाठोको नाच) शिक्षामूलक हुने कात्तिक नाच प्रबन्ध समितिले बताएको छ ।

प्रत्येक दिन साँझ कात्तिक डबलीमा नाच देखाइने गरिएको छ । बाह्र दिनसम्म चल्ने नाचमा झण्डै १०० जना सहभागी हुने समितिका अध्यक्ष किरण चित्रकारले जानकारी गराएका छन् । नृत्य गर्ने, गाउने र बाजा बजाउने गरेर निकै मान्छेको संलग्नतामा यो नाच देखाइने उनले बताएका छन् ।

यो वर्ष ललितपुर महानगरपालिकाले नाचका लागि रु दुई लाख आर्थिक सहयोग गर्ने भएको छ । समितिले भने यति रकम पर्याप्त नभएको बताउँदै आएको छ । यो वर्ष सात वर्षपछि ल्यब लायगु र खुशी छिकेगु देखाइने भएको छ । वि.सं १६९७ मा राजा सिद्धिनरसिंह मल्लले यो नाचको थालनी गरेका थिए ।

कृष्णभक्त राजा भएकाले उनले कृष्ण मन्दिर निर्माण गर्नुका साथै कृष्णलीलामा आधारित नाचको थालनी गरेका थिए । यस नाचमा तान्त्रिक विधिको प्रयोग हुने गरेको र कलाकारलाई दैविक शक्ति प्राप्ति हुने सहभागी कलाकार बताउँछन् ।

यो नाचको समयावधि घट्ने बढ्ने भइरहेको छ । वि.सं २००७ मा भने नाच सञ्चालन नै हुन सकेन । केही वर्ष पहिलेसम्म आठदेखि १० दिनसम्म देखाइने यो नाच चार वर्ष पहिलेदेखि १२ दिनसम्म देखाइदै आएको छ ।