काठमाडौं, कात्तिक २७ । आज छठ पर्वको तेस्रो दिन अथवा मुख्य दिन काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ । आजको दिन सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ ।
छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्छ । छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत वाग्मती, बल्खु, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ ।
२०४६ अघि तराईका सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप लिइसकेको छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना दिइएको थियो । सोही समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोकोक्ति अनुसार सोही समयदेखि नै छठ मनाउने परम्पराको शुरुवात भएको पाइन्छ ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठको व्रत बसेकी थिइन् र उनले त्यसकै फलस्वरूप अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकी र त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको थालनी भएको जनविश्वास छ ।
सूर्यको किरणबाट कैयौं असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षी दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आरधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यतासमेत पाइन्छ ।