दुई पक्षबीच सहमति हुँदा प्रेस काउन्सिलमा परेका उजुरीमा मेलमिलाप

काठमाडौँ, कात्तिक २७ । मानहानी भयो भन्दै उजुरीकर्ताले पठाएको खण्डन जस्ताको तस्तै छाप्ने र उजुरीकर्ताको भनाइ राख्न पर्याप्त समय दिने विषयमा उजुरीकर्ता ओशो तपोवन र नेपाल आज डटकमका प्रतिनिधिबीच सहमति भएपछि मेलमिलाप भएको छ ।

यही कात्तिक ८ गते प्रेस काउन्सिलको मध्यस्थतामा छलफल भई दुई पक्षबीच मेलमिलाप भएको हो । त्यसैगरी यही वैशाख १४ गते पूरा समाचार डटकमबाट नेपाल टेलिकमका विषयमा सम्प्रेषित सामग्री र सो माथि नेपाल टेलिकमको तर्फबाट परेको उजुरीका सम्बन्धमा पनि सहमति जुटेको छ ।

काउन्सिल र पूरा समाचार डटकमका सम्पादकबीच छलफल भई नेपाल टेलिकमबाट प्राप्त खण्डनलाई यसअघि प्रकाशित सबै समाचार शीर्षक उल्लेख गरी सोको विषयमा नेपाल टेलिकमबाट प्राप्त खण्डनको व्यहोरा स्पष्ट गरी खण्डन प्रकाशन गर्ने सहमति भयो ।

वैशाख २७ गते व्यापारी सुवास श्रेष्ठका विषयमा सुशासन न्यूज साप्ताहिक (सुशासन न्यूज डटकमसमेत) विरुद्ध परेको उजुरीका सम्बन्धमा सञ्चारमाध्यमको तर्फबाट सम्पादक उत्तम अर्याल, व्यवस्थापक दिनेश अर्याल, उजुरीकर्ता र काउन्सिलको छलफल कार्यदलबीच उजुरीमा उल्लेख भएको फोनवार्ता, समाचारको आधारका विषयमा छलफल भयो ।

त्यस सम्बन्धमा सुशासन न्यूज साप्ताहिकले उजुरीसँग सम्बन्धित विस्तृत विवरण उल्लेख गरी खण्डन प्रकाशन गर्ने र सो खण्डन पत्रिकाको अनलाइन संस्करणमासमेत प्रकाशन गर्ने सहमति जुट्यो । काउन्सिलमा परेका उजुरीमध्ये मेलमिलाप भएका यी प्रतिनिधि उजुरी मात्रै हुन् ।

प्रेस काउन्सिल नेपालले आचारसंहिता विपरीतमा समाचारविरुद्ध परेका उजुरीलाई ‘फास्ट ट्र्याक’ विधिबाट टुङ्ग्याउने कार्यलाई एक अभियानका रुपमा अगाडि बढाएको छ । निमित्त मुख्य अधिकृत तथा सूचना अधिकारी दीपक खनालले अदालतमा समेत वादी/प्रतिवादीबीच सकेसम्म मेलमिलाप गराउने नीति रहेको अवस्थामा काउन्सिलले पत्रकार आचारसंहिता–२०७३ को दफा ७ (२) को अधिनमा रही उजुरीकर्ता र सम्बन्धित आमसञ्चारमाध्यमबीच मेलमिलापको माध्यमबाट समस्याको समाधान दिन थालेको बताए ।

सञ्चारमाध्यमको संख्या बढेको सन्दर्भमा दिनहुँ उजुरी पर्ने गरेकाले त्यसलाई जति सक्दो चाँडो किनारा लगाउने तरिका अपनाउनुपरेको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको भनाइ छ । पछिल्लो समयमा काउन्सिलमा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीको संख्यामा पनि वृद्धि हुँदै जान थालेको छ ।

यस आर्थिक वर्ष (२०७५/७६) को गत साउनदेखि असोज मसान्तसम्ममा विद्युतीय माध्यममा ३७ र छापामाध्यममा १४ गरी ५१ उजुरी परेका छन् भने विद्युतीय माध्यममा परेका ३७ उजुरीमध्ये ११ फछ्र्योट भएको र २६ कारवाही प्रक्रियामा छन् ।

त्यसैगरी छापा माध्यममा परेका १४ उजुरीमध्ये चार फछ्र्योट भएको र १० कारवाही प्रक्रियामा रहेका छन् । यी ५१ उजुरीमध्ये अधिकांश उजुरी झुटा समाचार प्रकाशन प्रसारण गरेको, चरित्रहत्या गरेको, मानहानी भएको लगायतका विषयमा भएको पाइएको छ ।

आर्थिक वर्ष २०६९/७० मा ४६, २०७०/७१ मा ३९, २०७१/७२ मा ५१, २०७२/७३ मा १०१, आव २०७३/७४ मा ११२, र २०७४/७५ मा १६५ उजुरी परेका थिए ।