बाल्टिमोर, कात्तिक २७ । डेमोक्र्याट पार्टीबाट संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर काउन्टीको डिस्ट्रिक ८ बाट हाउस अफ डेलिगेट्समा निर्वाचित ह्यारी भण्डारीले आफुले जित्नुमा अमेरिकाका हरेक राज्यमा बस्दै आएका नेपालीको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।
राजनीतिमा १० वर्षदेखि क्रियाशील रहेका नेपाली मूलका भण्डारी गत नोभेम्बर ६ मा सकिएको निर्वाचनबाट विजय हासिल गरेका हुन् । उक्त विजय हासिल गरेर उनी पहिलो नेपाली अमेरिकी बनेका छन् ।
अमेरिकामा आएर नागरिकता लिएको सात वर्षमा नै भण्डारी उक्त पदमा पुगेका छन् । आगामी दिनमा आप्रवासी नेपालीका चासो र सरोकारका विषयमा आवाज उठाउने उनको भनाइ छ ।
उक्त डिस्ट्रिकका ८० हजार मतदातामध्ये नेपाली मूलका करीब १०० जना मात्र मतदानमा सहभागीता जनाएका थिए । अमेरिकाको विविधताको मजबुत आधारशिलाका कारण भण्डारीले हाउसमा विधायक भएर सेवा गर्ने मौका पाएको डा उत्तम गौलीको भनाइ छ ।
मेरिल्याण्डमा रहेका राजनीतिक पर्यवेक्षकले नेपालीले गरेको ‘फर्सीको मुन्टाको डिप्लोमेसी’ले पनि काम गरेको बताउँछन् । आफ्ना छिमेकीलाई आफ्नो करेसाबारीमा फलेको तरकारी र फलफूल दिएर आफ्नो बनाउन नेपाली निकै सिपालु देखिएका छन् ।
भण्डारी जिताउ अभियानमा सहभागी तरुण पौडेलले भण्डारीको जीतले अमेरिकामा रहेका सम्पूर्ण नेपालीका लागि छुट्टै इतिहास रच्न सफल भएको बताए । मेरिल्याण्डमा नै बसोबास गर्दै आएका नेपाल–अमेरिका पत्रकार संघका पूर्वअध्यक्ष गौतम दाहालले भण्डारीको जीतले डायस्पोरामा रहेका सम्पूर्ण नेपालीको पहिचान नै परिवर्तन भएको बताए ।
सन् २००५ देखि अमेरिकामा बसोबास गर्दै आएका भण्डारीले २०११ मा मतदानको अधिकार पाएका थिए ।