देशको भलो हुने खालको मात्र भाषण गर्छु : पूर्वराष्ट्रपति डा. यादव

सप्तरी, कात्तिक २७ । देशमा सबै मिलेर अगाडि बढोस् भन्ने आफ्नो चाहना रहेको पूर्वराष्ट्रपति डा. रामवरण यादवले बताएका छन् । यसै कारणले गर्दा आफूले जहिले पनि सोचेर मात्र बोल्ने गरेको उनको भनाइ छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ५ को बर्साइनस्थित मुसहर बस्तीमा बनाइएको दलित घरको हस्तान्तरण समारोहमा बोल्दै उनले देशमा सबै मिलेर अघि बढ्न सके मात्र देशको भलो हुने बताएका छन् ।

उनले भने– म पूर्वराष्ट्रपति हुँ धेरै भाषण गर्न सक्छु, तर म गर्दिन सोचेर मात्रै बोल्छु । राजनीतिक भाषण गर्न आफूले छाडेको उनको भनाइ छ । उनले आफुले राजनीतिभन्दा देशको भलो कसरी हुन्छ भन्ने किसिमको मात्रै भाषण गर्ने गरेको बताए ।

चुरेलाई सबै मिलेर जोगाउनुपर्ने भन्दै डा यादवले चुरे देशको प्राण भएको बताएका छन् । ‘चुरे नरहे देश रहन नसक्दै भन्दै उने भने– दिनदिनै भइरहेको चुरे विनाशकै कारण बर्षाको समयमा जताततै बाढी पसिरहेको छ, जसरी हुन्छ यसलाई रोक्न जरुरी रहेको छ ।

अहिले मुलुकमा जताततै डोजर आतंक देखिएको बताउँदै उनले डोजर आतंकलाई रोक्नुपर्ने बताएका छन् । ‘पहाड, मधेश जताततै डोजर आतंक छ, यसले विकासभन्दा विनाश निम्त्याइरहेको छ उनले भने–डोजर आतंकलाई रोक्नु सबैका लागि जरुरी छ ।

उनले एक फरक प्रसङ्ग निकाल्दै मिडिया गणतन्त्रको अक्सिजन भएकाले यसमा अंकुश लगाउन नहुने धारणा व्यक्त गरेका छन् । ‘मिडिया गणतन्त्रको प्राण भएकाले यसको हरण हुने काम गरिनु नहुने उनको भनाइ छ । उनले प्रेसमाथिको अंकुश रोकिनुपर्ने आवश्यकता औल्याएका छन् ।