राजपाका संविधान संशोधनबाहेक अन्य माग पूरा गर्ने

काठमाडौँ, साउन ४ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले गरेको माग अनुसार संविधान संशोधन प्रस्ताव पारित हुने अवस्था नरहेकाले सरकारले अन्य माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राजपा नेपालका शीर्ष नेताको बसेको बैठकमा संविधान संशोधन लगायत समसामयिक राजनीतिक विषयमा छलफलमा भए पनि निष्कर्षमा पुग्न सकेको छैन । सरकारले संशोधन बाहेक मधेसका आन्दोलनकारीका मुद्दा फिर्ता लिने, सख्त घाइते तथा गम्भीर अपाङ्गता भएका व्यक्तिलाई जीवन निर्वाहको प्रबन्ध गर्ने, स्थानीय तहको संख्या थप गर्न आदि माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।

सरकार आफ्ना माग सम्बोधन गर्न सकारात्मक देखिए पनि परिणाम नदेखिएको राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले बताए । संविधान संशोधनका बिषयमा सरकारले स्पष्ट धारणा ल्याउन नसकेको भन्दै उनले यथास्थितिमा निर्वाचनमा जाने बारेमा सोच्न नसकिने जनाए । प्रदेश नं. २ को स्थानीय तहको निर्वाचन आगामी असोज २ गतेका लागि तय भएको छ । बैठकमा प्रधानमन्त्री एवम् काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राजपा अध्यक्ष ठाकुरलगायत नेताहरु उपस्थित भएका थिए ।