काठमाडौँ, कात्तिक २९ । पछिल्लो समय ट्राफिक प्रहरीले सिसिटिभीमार्फत सवारी चालकको अनुगमन गरिरहेको छ । ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाउने सिसिटिभीको अनुगमनमा पर्न थालेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समय जथाभावी सवारीसाधन चलाउने चालकलाई सिसिटिभीमार्फत अनुगमन गरी कारवाही गर्न शुरु गरेको हो । महाशाखाको यही अभियानबाट हालसम्म २० हजार २४ जनालाई कारवाही गरेको छ ।
वि.सं २०७३ देखि सिसिटिभीमार्फत सवारी चालकलाई कारवाही थालेको महाशाखाले हालसम्म २० हजार बढी व्यक्तिलाई कारवाही गरेको हो । आव २०७३/७४ मा १३ हजार २२७, आव २०७४/७५ मा दुई हजार ७१६ र आव २०७५/७६ मा दुई हजार ७५२ जनालाई कारवाही गरेको छ ।
पछिल्लो समय सिसिटिभीमार्फत सवारी साधन कारवाहीलाई तीव्रता दिएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले बताएका छन् । उपत्यकाका सबै चोक र सडकमा ट्राफिक जनशक्तिको अभाव भएकाले महाशाखाले सिसिटिभीमार्फत सवारी उल्लङ्घन गर्ने सवारी चालकलाई कारवाही गर्ने संख्या बढाएको उनको भनाइ छ ।
साँघुरा सडक र अत्याधिक सवारीसाधन भएकाले लेन मिच्ने, तीब्र गतिमा सवारी चलाउने, एकतर्फी बाटोमा सवारी चलाउने, नो टर्न लेखेको ठाँउबाट टर्न लिनेलगायतलाई कारवाही गरिएको महाशाखाले बताएको छ । हाल महाशाखाले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेका ४६० क्यामराबाट उपत्यकाको ट्राफिक गतिविधिको बारेमा अनुगमन गर्दै आएको छ ।
महाशाखाले सवारी नियम उल्लङ्घन गर्ने एक हजार ३२९ सवारी चालकलाई घरमा चिठी पठाएर कारवाही गरेको छ । वि.सं २०७४ मा तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनाल महाशाखा प्रमुख भएको समयमा महाशाखाले सवारीसाधन उल्लङ्घन गर्ने चालकलाई घरमा चिठी पठाएर कारवाही गर्ने अभियान थालेको थियो ।
आव २०७४/७५ मा ५५१ र आव २०७५/७६ को हालसम्म ७७८ जनालाई कारवाही गरेको हो । महाशाखाले सवारीसाधनमार्फत एक हजार ९५८ सवारी चालकलाई कारवाही गरेको छ । आव २०७४/७५ मा एक हजार २५३ र आव २०७५/७६ मा ७०५ सवारी चालकलाई कारवाही गरेको छ ।
सवारी नियम उल्लङ्घन गर्ने सवारी चालकलाई रु ५०० देखि एक हजारसम्म जरिवना र जनचेतना दिँदै आएको महाशाखाका प्रमुख पन्तले बताएका छन् ।
महाशाखाले सिसिटीभिका अलावा बडीवान क्यामरा, ग्रोप्रो क्यामरामार्फत कारवाही गर्दै आइरहेको छ । ट्राफिक उभिएर गर्ने कारवाही, सामाजिक सञ्जालमार्फत हेरेर गरिने कारवाही, यात्रुले खबर गरेर गरिने कारवाहीसमेत रहेका छन् । महाशाखाले सिसीटिभीमार्फत उपत्यकामा हुने कतिपय सवारी दुर्घटनाको अनुसन्धानसमेत गर्दै आइरहेको छ ।
यातायात व्यवस्था विभागका अनुसार हाल नेपालभर ३२ लाख सवारीसाधन सञ्चालनमा रहेका छन्, जसमध्ये आठ लाख सवारीसाधन काठमाडौँ उपत्यकामा मात्र सञ्चालनमा रहेका छन् । उपत्यकामा साँघुरा सडक र सवारीसाधनको बढ्दो चापका कारण ट्राफिक व्यवस्थापनमा समस्या पैदा हुँदै गएको छ ।