दाङ, कात्तिक २९ । प्रदेश नं ५ मा दशैँ तिहारमा गरेर ३६७ सवारी दुर्घटना भएका छन् । जसमा ४१ जनाको ज्यान गएको छ भने ती सवारी दुर्घटनामा परी ६६२ जना घाइते भएका प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।
घाइतेमध्ये केही उपचारपछि घर फर्किसकेका र केही भने विभिन्न अस्पतालमा उपचाररत छन् । दशैँ तिहारलाई लक्षित गरेर प्रदेश नम्बर ५ का १२ वटै जिल्लामा प्रहरी उच्च सुरक्षा सतर्कतासमेत अपनाएको थियो ।
यसरी दुर्घटना भएका सवारी साधनमा २६४ मोटरसाइकल, ५२ जीपकार, २१ बस, ट्र्याक्टर १७, ट्रक, ट्र्याङ्कर १२ , माइक्रो पाँच, टिपर चार, टेम्पो चार, रिक्सा ३१ र अन्य गरी ४५४ सवारी साधन रहेका छन् । यी दुर्घटनामध्ये सबैभन्दा बढी सवारी दुर्घटना बाँके जिल्लामा भए भने दोस्रोमा रुपन्देही र तेस्रोमा दाङ रहेको छ ।
उक्त समयावधिमा नियम विपरीत सवारी साधन चलाउने १७ हजार ३६२ चालकलाई कारवाही गर्दा रु एक करोड १० लाख सात हजार राजश्व सङ्कलन भएको पनि प्रवक्ता मल्लले जनाए ।
त्यसैगरी उक्त समयावधिमा ५ नम्बर प्रदेशमा भन्सार छली गरी अवैध सामान ओसारपसार गर्न १७ मानिस र चार वटा सवारी साधनलाई पक्राउ गरी रु ३१ लाख ६० हजार १८१ भन्सारमा दाखिला गरेको पनि मल्लले बताए ।