केहि दिनदेखि यता बढेको गर्मीले जनजीवन कष्टकर

लहान, साउन ४ । केहि दिनदेखियता एकाएक बढेको गर्मीका कारण जनजीवन कष्टकर बन्दै गएको छ । बिहान शुरुवातदेखि नै लाग्ने चर्को घामका कारण मानिसहरुको दैनिकीमा निकै सकस पर्न थालेको छ ।

दिनभरिको तातो घामका कारण घरबाट बाहिर निस्कनै नसक्ने अवस्था बनेको छ । अत्यधिक रुपमा बढेको गर्मीका कारण बजारमा मानिसको चहलपहलमा समेत कमी आएको पाइन्छ । एक हप्ता अघिको अत्यधिक वर्षा र बाढी रोकिन नभ्याउँदै एकाएक सुरु भएको अत्यधिक गर्मीले मानिसको चहल–पहलसमेत घट्न थालेको मानिसहरु बताउँछन् । गर्मीका कारण अस्पतालमा पखला, रुघाखोकी तथा ज्वरोका बिरामीका चाप बढ्नाका साथै सर्पदंशको घटनासमेत बढ्ेको स्थानीय स्वास्थ्यकर्मीको भनाई छ ।

सदरमुकाम सिरहास्थित जिल्ला अस्पतालमा गर्मी बढेसँगै दैनिक ४०/५० जनासम्म बिरामी आउने गरेको अस्पतालका मेसु डा चुमनलाल दास जनाउँछन् । अत्यधिक गर्मीका कारण जमिनमुनि बस्ने सर्प जमिनबाहिर निस्कन थाल्ने र सर्वसाधारणलाई टोक्ने क्रम बढेकाले जिल्ला अस्पतालसहित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप बढ्न थालेको छ । तराई लगायतका नेपालका अन्य ठाउँमा पनि गर्मी बढेपछि सबैको जनजीवन कष्टकर बनेको छ ।