बागलुङ, कात्तिक ३० । राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले जोड दिएका छन् ।
मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ आएका शर्माले राष्ट्रिय गौरवका आयोजनाले पहिलो फाइदा स्थानीय तहलाई हुने भएकाले आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाहरु अनुगमन गर्नका लागि सुल्झाएका छन् ।
नेकपा बागलुङका नेता तथा जनप्रतिनिधिसँगको छलफलमा उनले राष्ट्रिय गौरवका आयोजना कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले बागलुङ जिल्लालाई समृद्ध बनाउनका लागि महत्वपूर्ण भूमिका निभाउने भएकाले सरकारले बजेट अभाव हुन नदिने र चाँडो काम नसक्ने ठेकेदारलाई सरकारले कारवाही गर्न पछि नहट्ने प्रस्ट पारेका छन् ।
बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, नेकपा बागलुङका नेता तथा कार्यकर्ताहरुले लोकमार्गको बागलुङ–बिहुँखण्ड छिटो कालोपत्रे गर्नका लागि पहल गरिदिन नेता शर्मालाई अनुरोध गरेका थिए ।