बेरोजगारीको समस्या बढ्दै गएपछि प्राविधिक शिक्षातर्फ विद्यार्थी आकर्षित हुँदै

खोटाङ, कातिक ३० । नेपालमा बेरोजगारीको समस्या दिनानुदिन बढ्दै जानथालेपछि स्वदेशमै केही गर्ने उद्देश्यका साथ प्राविधिक शिक्षामा विद्यार्थी आकर्षित हुन थालेका छन् ।

पछिल्लो समय खोटाङ जिल्लामा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको हो । प्राविधिक शिक्षा अध्ययनपछि बेरोजगार बस्नु नपर्ने भएकाले विद्यार्थीको आकर्षण त्यसतर्फ बढ्दै जान थालेको हो ।

जिल्लाका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गरिएको महुरेगढी नमूना बहुप्राविधिक शिक्षालयले वन विज्ञान (फरेस्ट्री) विषयमा भर्ना लिएको छ ।

तीनवर्षे कृषि, फरेस्ट्री, भेटेरेनरी, ओभरसियर, सब–ओभरसियर, प्लम्बर, कम्प्युटरलगायत सीपमूलक विषय अध्यापनका लागि सो शिक्षालयले स्थापनाको पहिलो वर्ष वन विज्ञानबाट पढाइ थालेको हो । सातवटै प्रदेशमा एक/एक वटा नमूना बहुप्राविधिक शिक्षालय स्थापनाका लागि सरकारले (आर्थिक वर्ष २०७३/०७४) को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रदेश नम्बर १ का लागि खोटाङमा स्थापना गरिएकोे सो शिक्षालयमा आगामी शैक्षिकसत्रदेखि सबै विषय पढाइ हुने भएको छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ स्थित सरस्वती माविले पनि प्राविधिक शिक्षा अन्तर्गत कृषि बाली विज्ञान (जेटीए) कक्षा संचालन थालेको छ । सीटीईभीटीको मान्यता प्राप्त सो विद्यालयमा प्राविधिक एसएलसीतर्फ १८ महिने अध्यापनको उक्त कक्षामा ४० जना विद्यार्थी भर्ना भएका छन् ।

जम्मा छैसठ्ठी जनाको आवेदन परेको थियो जसमा प्रवेश परीक्षा लिइ कोटा अनुसार भर्ना लिइएको विद्यालयका प्रधानाध्यापक ध्यानबहादुर राईले बताए । बीस प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक परीक्षाका माध्यमबाट पढाइ पूरा हुने विद्यालयले बताएको छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२, जालपास्थित ज्योति माविले पनि पशु विज्ञान विषयको १८ महिने कक्षा चलाउने भएको छ ।

ज्योति मावि जालपा र सरस्वती मावि दिक्तेलले यसै वर्षदेखि पठनपाठन थालेको हो । खोटाङमा सिभिल इन्जिनियरिङ, वन विज्ञान, कृषि जेटीए, पशु जेटिए, लघु उद्यम सहजकर्ता, ब्युटिसियन, मोबाइल मर्मतलगायत प्राविधिक विषयको अध्ययन तथा तालीममा विद्यार्थी आकर्षित हुँदै जान थालेका छन् ।

सामान्य शिक्षाले बेरोजगार जनशक्ति मात्र उत्पादन गरिरहेको अवस्थामा प्राविधिक शिक्षालयको लहर चलेको पञ्च मावि दिक्तेलका प्रधानाध्यापक भवकृष्ण ढकालले बताए ।

हाम्रो शिक्षा पद्धतिले अहिलेसम्म बेरोजगार जनशक्ति मात्र उत्पादन गर्यो । त्यही भएर स्वरोजगार जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षाको आवश्यकता महसुस गरिएको हो– उनले भने ।

पञ्च माविले आर्थिक वर्ष २०६९/०७० देखि मावि तहमा बाली विज्ञान विषय अध्यपन गराउँदै आएको छ । यस्तै साकेला गाउँपालिकाको रतन्छास्थित साकेला माविले तीनवर्षे डिप्लोमा तहको बाली विज्ञान विषय अध्ययनको अनुमति प्राप्त गरेको छ ।