दार्चुला, कात्तिक ३० । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा गएका मालिकार्जुन गाउँपालिका–३ का ३५ वर्षीय तारासिंह धामीको मृत्यु भएको छ ।
तीन वर्षअघि आफ्नो घर परिवारको खुशी खोज्दै विदेशिएका धामी बिहीबार बिहान ४ बजे मृतअवस्था भेटिएको परिवारले बताएका छन् । धामी एक होटल नजिकै मृत फेला परेका थिए ।
मृत्यु के कसरी भयो भन्नेबारे अहिलेसम्म केही पनि खुल्न नसकेको मृतकका काका धरमसिंह धामीले जनाए । घर परिवारको एक मात्रै सहारा धामीको मृत्युले परिवारजनमा नैराश्यता छाएको छ । धामीका ८ र ४ वर्षीय दुई छोरा र तीन वर्षीय छोरी छन् ।
छोरी जन्मेपछि धन कमाउने अभिलाषा बोकेर विदेशिएका धामीको मृत्युको खबरपछि उनको परिवार मात्र होइन पुरै गाउँ शोकमा डुबेको स्थानीय लोकेन्द्रसिंह धामीले बताएका छन् । मृतकको शव नेपाल ल्याउनको लागि पहल थालिएको गरिएको छ ।
0
Shares