काठमाडौँ, कात्तिक ३० । शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुनको तेस्रो साता हुने भएको छ ।
बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘सी’ डिभिजन क्लबका प्रतिनिधिबीच भएको बैठकले प्रतियोगिताको मिति तय गरेको एन्फा प्रवक्ता किरण राईले बताए ।
एन्फा र क्लब प्रतिनिधिबीच प्रतियोगिता फागुन दोस्रो सातादेखि गर्ने सहमति भएको छ लिग निर्देशक सञ्जिव मिश्रले भने– प्रतियोगिता शुरु हुने मिति केही समयमा तय गर्छौं ।
सहमति अनुसार लिगको तयारीका लागि एन्फाले प्रत्येक सी डिभिजन क्लबलाई रु चारचार लाख आर्थिक सहयोगसमेत उपलब्ध गराउनेछ ।
‘सी’ डिभिजन लिगमा ११ सी डिभिजन क्लब प्लानिङ ब्वाइज युनाइटेड, खलिबारी, मनहरा, स्वयम्भू, समाज कल्याण खेलकूद केन्द्र, कुमारी, सानो गौचरण, ओसिस, सानेपा, सामाजिक र वीरगञ्ज युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
सो खेलमा सहभागी क्लबलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । समूहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । शीर्ष चार टोलीबीच सुपर लिगका आधारमा विजेता र उपविजेताको छनोट गरिने लिग निर्देशक सञ्जिव मिश्रले बताए ।