उपप्रधान तथा परराष्ट्रमन्त्री महरासँग संघका अवासीय संयोजकबीच भेट

काठमाडौ, साउन ४ । संयुक्त राष्ट्र संघका अवासीय संयोजक भलेरी जुलियण्डले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र संयुक्त राष्ट्र संघबीचको सम्बन्ध तथा सहयोगका विषयमा छलफल भयो । परराष्ट्रमन्त्री महराले नेपालका विविध क्षेत्रमा राष्ट्र संघले पुर्याएको सहयोगप्रति आभार प्रकट गरे । संविधानको कार्यान्वयनका क्रममा दुई चरणमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै उनले तेस्रो चरणको स्थानीय तहको निर्वाचन तथा बाँकी प्रदेश र केन्द्रीय निर्वाचन पनि शान्तिपूर्ण ढंगमा सम्पन्न हुने उल्लेख गरे ।

सो अवसरमा संयोजक जुलियण्डले नेपाल र संयुक्त राष्ट्र संघबीच रहँदै आएको सुमधुर सम्बन्ध आगामी दिनमा अझ विस्तार भएर जाने बताए । उनले दुई चरणको स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको प्रति खुशी व्यक्त गर्दै तेस्रो चरण तथा बाँकी दुई तहको निर्वाचन पनि शान्तिपूर्ण तबरले सम्पन्न हुने विश्वास व्यक्त गरे ।