काठमाडौ, मङ्सिर २ । नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले आफ्नो सेवा विस्तार गर्दै लगेको छ ।
वीर अस्पतालले अगामी दुईवर्षभित्र तयार हुने गरी नौ तलाको अत्याधुनिक भवनभित्र पछिल्लो समय विकसित भएका अत्याधुनिक उपकरण जडान गरी १५ वटा चिकित्सा विज्ञानका शल्यक्रिया कक्ष (अपरेश थिएटर) रहने भवन निर्माण शुरु गरेको हो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) अन्तर्गतको वीर अस्पतालका भौतिक पूर्वाधार विस्तारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च प्राथमितामा राखेको छ । हाल भवनको निर्माण कार्य एवम् आवश्यक उपकरण आयात कार्य एकसाथ अगाडि बढेको छ । भवनभित्र पोष्ट अपरेटिभ, ४० श्ययाको सर्जिकल, अति सघन कक्ष र पुस्तकालय रहने भएका छन् ।
यसैगरी ज्येष्ठ नागरिक तथा अपांग तथा बिरामी कुरुवामैत्री भवन बन्ने न्याम्सले बताएको छ । नेपाल सरकारको रु तीन अर्ब ८५ करोडको लागतमा उक्त भवन वि.सं २०७७ भित्र बनाइसक्ने लक्ष्य राखिएको छ । विनाशकारी भूकम्पले क्षति पुर्याएको न्याम्स अन्तर्गतको नर्सिङ कलेजको पुरानो भवनको संरचना भत्काई सोही स्थानमा शल्यक्रिया भवन निर्माण गरिने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वि.सं २०७४ फागुन २५ गते उक्त भवनको शिलान्यास गर्दै निर्धारित समयभित्र भवन निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका थिए । सो भवनको शिलान्यास गर्दै उनले सबै रोगका उपचार स्वदेशभित्रका अस्पतालबाट सर्वसुलभ रुपमा हुने बताएका थिए ।
यस कार्यलाई सरकारले उच्च प्राथमिता दिएको र स्वास्थ्य क्षेत्रका चिकित्सक, जनशक्ति, औषधि तथा भौतिक पूर्वाधार तयार गर्न रकमको अभाव नहुने बताएका थिए । वि.सं १९४७ मा १५ श्यैयाबाट सेवा दिन थालेको वीर अस्पतालको हालको क्षमता ४५० श्यैयाको छ ।
न्याम्समा चिकित्सा विज्ञानका नर्सिङ, एमबिबिएस, एमडीलगायत विभिन्न तहमा उच्च शिक्षा पठानपाठन तथा तालिमका कार्यक्रम समेत सञ्चालन हुँदै आएका छन् । नाम्सको कुलपति पद खाली भएको पाँच महिना बितिसकेको छ । एक कर्मचारीका अनुसार अहिले कुलपति नहुँदा दैनिक कार्य सञ्चालनमा समेत अप्ठ्यो परिरहेको छ ।
विभिन्न प्रतिष्ठानमा रिक्त रहेका पदाधिकारी नियुक्तिका लागि मन्त्रीसमक्ष सिफारिस भैसकेकाले छिटै पदपूर्ति हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा सुशीलनाथ प्याकुरेलको भनाइ छ ।
वीर अस्पतालले सो स्थानमा एक हजारदेखि एक हजार ५०० शथ्यासम्मको अस्पताल, नर्सिङ, औषधि पसल, चिकित्सा शिक्षाका लागि कलेज, आवास गृहलगायतका पूर्वाधार तयार गर्दैछ ।
सरकारी स्तरमा पहिलो पटक हेलिप्याडको सुविधा समेत रहने निर्देशक प्राडा बस्नेतले बताए । आगामी पाँच वर्षभित्रमा भौतिक संरचनाका काम सम्पन्न गर्ने गरी भवन निर्माण भइरहेको छ ।