काठमाडौँ, मङ्सिर २ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज ललितपुरको सातदोबाटोस्थित एन्फा क्म्प्लेक्स मैदानमा दुईवटा खेल हुँदैछन् ।
आजको पहिलो खेलमा विभागीय टोेली नेपाल पुलिस मछिन्द्र क्लबसँग भिड्दैछ । यसअघि भएको पहिलो खेलमा नेपाल पुलिसले जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो भने मछिन्द्रले च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।
खेल हुनुअघि आज बिहान आयोजित ‘प्री म्याच क्न्फ्रेन्स’मा पुलिसका प्रशिक्षक अनन्तराज थापाले मछिन्द्र क्लबलाई सहज रुपमा जित नदिने बताए । मछिन्द्र क्लबका प्रशिक्षक धनेश्वर प्रजापतिले दशैँ–तिहारपछि मात्रै अभ्यास शुरु गरेकाले सोचे अनुसारको तयारी हुन नपाएको जनाए ।
यस्तै आजै हुने दोस्रो खेलमा ललितपुरका ब्रिगेड ब्वाइज क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ । पहिलो खेलमा थ्री स्टारले फ्रेन्ड्सलाई २–१ ले पराजित गरेको थियो भने ब्रिगेट ब्वाइजले मनाङसँग हार बेहोरेको थियो ।
थ्री स्टारका लागि क्लबका मिडफिल्डर विक्रम लामा आजको खेलबाट मैदानमा फर्कंदैछन् । चोटका कारण करीब आठ महीना मैदान बाहिर रहेका विक्रम उपचार पूरा गरेर मैदान फर्कन लागेका हुन् । लिग चरणको दोस्रो खेलमा राष्ट्रिय टोलीका खेलाडीले भरिएको थ्री स्टारलाई उमेर समूहका खेलाडी आबद्ध ब्रिगेटले चुनौती दिने ब्रिगेड ब्बाइज क्लबका प्रशिक्षक उज्वल श्रेष्ठले बताए ।
थ्री स्टारमा राष्ट्रिय टोलीबाट पूर्वकप्तान अनिल गुरुङसँगै एलेन न्यौपाने, अनन्त तामाङ, निराजन खड्का, सुनिल बललगायत खेलाडी समावेश रहेका छन् ।
थ्री स्टारका सहायक प्रशिक्षक अशोक राईले तिहारलगत्तै तयारीमा जुटेकाले राम्रो प्रदर्शन गर्ने दाबी गरेका छन् । पछिल्लो पटक वि.सं २०७१ मा भएको ‘ए’ डिभिजन लिग चार वर्षपछि भइरहेको छ ।