पत्रकार सहारा उपचार कोषमा २७ लाखभन्दा बढी रकम जम्मा

भद्रपुर, साउन ५। भद्रपुर, साउन ५ । समाजसेवी कृष्णकुमारी पोखरेलको ८६औँ जन्मजयन्तीको अवसरमा उनका छोरा बुहारीले पत्रकार सहारा उपचार कोषलाई आर्थिक सहयोग गरेका छन् ।

छोरा बुहारी राजकुमार पोखरेल र मीना पोखरेलले पत्रकार सहारा उपचार कोषका लागि रू. एक लाख १०१ प्रदान गरेका छन् । पोखरेल दम्पतीले आमा कृष्णकुमारीको स्मृतिमा पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा र उपाध्यक्ष एवं पत्रकार उपचार कोषका संयोजक एकराज गिरीलाई हालै सो रकम प्रदान गरेको हो । रकम हस्तान्तरण समारोहमा राजकुमारले कृष्णकुमारी आफ्नो मात्रै आमा नभएर पुरै बिर्तामोडवासीकै अभिभावकको रुपमा भूमिका निर्वाह गरेको राजकुमारले स्मरण गराए ।

महासंघका अध्यक्ष सापकोटाले कोषमा यी दुई दम्पतिले गरेको सहयोगमा पोखरेल परिवारप्रति धन्यवाद ज्ञापन गरे । यसैगरी, बिर्तामोड–५ स्थित साहित्य चौतारी झापाले पत्रकार सहारा उपचार कोषलाई रू. ५५ हजार ५५५ प्रदान गर्ने घोषणा गरेको छ । महासंघले रू. एक करोड पु¥याउने लक्ष्यका साथ स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा हालसम्म रू. २७ लाखभन्दा बढी जम्मा भइसकेको कोषका संयोजक गिरीले जानकारी दिएका छन् ।