नेपाल भारतमैत्री मुसायरा कार्यक्रम सम्पन्न

इनरुवा, मङ्सिर ३ । सुनसरीको हरिनगर गाउँपालिका– १ रामनगर, भुटाहामा पहिलोपटक आयोजित नेपाल भारतमैत्री मुसायरा कार्यक्रम आज सकिएको छ ।

आयोजक संस्थाका अध्यक्ष नइम अन्सारीले विभिन्न स्थानीय तह र हरिनगर गाउँपालिकाका विभिन्न संघ संस्थाको सहयोग तथा एलाइन्स नेपालको संयोजनमा आइतबार साँझबाट शुरु भएको कार्यक्रम आज बिहानै सकिएको जनाएका छन् ।

कार्यक्रममा नेपाल र भारतका बहुभाषिक कवि, सायर एवं सायराको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष अंसारी बताए । मुसायरा कार्यक्रममा विभिन्न भाषाभाषीले आ–आफ्ना भाषामा गीत, गजल, सायरी, चुट्किला, कविता, साहित्य वाचन गरेर सुनाएका आयोजकले बताएको छ ।

कार्यक्रममा नेपाली, हिन्दी, उर्दू, अरबी, फारसी, मैथिली, भोजपुरी, उराँव, थारूलगायतका भाषामा गीत, गजल, सायरी, चुट्किला, कविता, साहित्य वाचन भएको आयोजक संस्थाका महासचिव सुशील ठाकुरले बताए ।