‘विकास र समृद्धिका लागि सबै एकजुट हुनुपर्ने’

लहान, मङ्सिर ३ । जनताले विकास र समृृद्धि खोजेकाले सबै मिलेर यसको पूर्ति गर्नुपर्ने राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताएका छन् ।

सिरहाको कर्जन्हा नगरपालिका–६ भेरवा खोलामा पुलको शिलान्यास गर्दै उनले सबै दल मिलेर जनताको सपना पूरा गर्नुपर्नेमा जोड दिए ।

चुनावको समयमा आफूले जनतासँग गरेको बाचा पूरा गर्ने उनले प्रतिबद्धता जनाएका छन् । उनले भने– दलित, गरीब र असहायलगायतको नाममा राजनीति गरियो, तर नेतृत्वकर्ताले काम गर्न नसक्दा ती समुदाय पछि पर्दै गए ।

सिरहा क्षेत्र नं ४ बाट निर्वाचित सांसद यादवले आफ्नो क्षेत्रमा पर्ने कर्जन्हा नगरपालिकाको विकास गर्न संसदीय कोषको ५० प्रतिशतभन्दा बढी खर्च गर्न लागेको बताए ।