‘क’ वर्गका बैंकहरुमध्ये बढी नाफा वाणिज्य बैंकको

काठमाडौँ, मङ्सिर ३ । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महीनामा रु एक अर्ब १२ करोड मुनाफा कमाएको छ ।

चालू आवको पहिलो त्रैमासको विवरण सार्वजनिक गर्ने ‘क’ वर्गका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी नाफा वाणिज्य बैंकको नै रहेको छ । वाणिज्य बैंकले गत वर्षको सोही अवधिमा रु ७० करोड ९५ लाख नाफा कमाएको थियो ।

बैंकले पछिल्लो तीन महीनामा रु एक खर्ब ६४ अर्ब निक्षेप सङ्कलन गरी रु एक खर्ब २३ अर्ब ऋण लगानी गरेको छ । बैंकको चुक्ता पूँजी रु नौ अर्ब पुगेको छ भने जगेडा कोष १४१ दशमलब ६७ प्रतिशतले वृद्धि भइ रु १२ अर्ब ५४ करोड पुगेको बैंकद्वारा आज सार्वजनिक विवरणमा उल्लेख गरिएको छ ।

यस्तै बैंकको पूँजी कोष अनुपात १३.७५ प्रतिशत रहेको छ भने खराब कर्जा ३.८३ प्रतिशत पुगेको छ । आधार ब्याजदर पनि वृद्धि भएर ६.३३ प्रतिशत पुगेको छ ।

यसैगरी बैंकको कर्जा निक्षेप अनुपात ६७.८७ प्रतिशत रहेको छ । यस्तै गत वर्षको सोही अवधिको तुलनामा प्रतिशेयर आम्दानी चार रुपैयाँले वृद्धि भएर १२ रुपैयाँ ४४ पैसा पुगेको छ ।