जापान सरकारले नेपाललाई रु ३५ करोड ६० लाख अनुदान उपलब्ध गराउने

काठमाडौँ, मङ्सिर ४ । खाद्य सहायता कार्यक्रम अन्तर्गत जापान सरकारले नेपाललाई रु ३५ करोड ६० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र जापानका लागि नेपालका राजदूत प्रतिभा राणाले सोमबार जापानको परराष्ट्र मन्त्रालयमा आयोजित विशेष समारोहमा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।

जापानको औपचारिक भ्रमणका क्रममा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी तारो कोनोबीच प्रतिनिधिमण्डलस्तरीय वार्तापछि मन्त्रीद्वयको उपस्थितिमा दुवै मुलुकका राजदूतले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

जापान सरकारले नेपालमा खाद्य सुरक्षा सुनिश्चित गर्नका लागि सो सहायता उपलब्ध गराएको हो ।

जापानले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएबाट यता नेपालको सामाजिक, आर्थिक एवं भौतिक पूर्वाधार विकासका निम्ति निरन्तर सहयोग गर्दै आइरहेको छ ।