शान्ति र सुरक्षित नेपाल बनाउनु अहिलेको आवश्यकता : गृहमन्त्री

भक्तपुर, मङ्सिर ६ । गृहमन्त्री रामबहादुर थापाले एक महिने ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’ को शुभारम्भ गरेका छन् । सो अभियानको शुभारम्भ आजदेखि भक्तपुरबाट भएको हो ।

आज बिहान भक्तपुरको लोकन्थली मनोहरा पुल बढारेर सो अभियानको शुभारम्भ गर्दै गृहमन्त्री थापाले अभियन्ताहरुलाई सफाइका सामग्री हस्तान्तरण गरे । पूर्वमन्त्री एवं सांसदद्वय महेश बस्नेत र सांसद प्रेम सुवाल, प्रदेश नं ३ का सांसद शशीजङ्ग थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायत जनप्रतिनिधि र सफाई अभियन्ताहरूलाई कुचो, डोको, साबेल, माक्स, पञ्जालगायत सामग्री हस्तान्तरण गरिएको थियो ।

जनताले समृद्ध नेपाल र सुखी नेपाली बनाउने जिम्मा दिएका र त्यो जिम्मेवारी पूरा गर्न र सफल पार्नका लागि सबैको साथ र सहयोगको आवश्यकता पर्ने उनको भनाइ छ । शान्ति र सुरक्षित नेपाल बनाउनु अहिलेको आवश्यकता औंल्याउँदै उनले जनतालाई समृद्धि र सुरक्षाको प्रत्याभूति दिने अभियान पनि प्रारम्भ भएको बताएका छन् ।

अरनिको राजमार्गमा टिपरले धेरैको ज्यान लिएको भन्दै गृहमन्त्री थापाले भने– हामी सुरक्षित नेपाल पनि बनाउने अभियानमा लागेको छाँै, सुरक्षित भए मात्रै देशलाई समृद्ध बनाउन सक्छौँ, दुर्घटना र महिला हिंसाको पछाडिका कारण मदिरा नै भएकाले जनताको सुरक्षाका निम्ति पनि मदिरा पूर्ण रूपमा निषेध गर्नुपर्ने आवश्यकता छ ।

महिला हिंसा र बलात्कार रोक्न, सरकार, प्रहरी र प्रशासनले मात्रै सम्भव नहुने भएकाले यसमा जनताको सहभागिता जरुरी हुने भन्दै उनले सिङ्गापुर समृद्ध बनेको उदाहरण दिँदै जनता र सरकार मिलेर आफ्नो मुलुकलाई पनि समृद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।

सांसद महेश बस्नेतले भक्तपुरको छ लेन सडकसँगै अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत मनोहरा पुलदेखि भक्तपुरको सिमानामा रहेको काभ्रेको साँगासम्मको सडकका साथै सफा, स्वच्छ र सुरक्षित बनाउन सबै लाग्नुपर्ने बताए ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा आगामी एक महीनासम्म सञ्चालन हुने यो अभियानले भक्तपुरका जनतालाई सभ्य, सुरक्षित र मर्यादित बनाउने भन्दै उनले जडिबुटीबाट भक्तपुर प्रवेश गरेपछि र साँगाबाट भक्तपुर प्रवेश गरेपछि फोहर गरे कारवाही हुने कुरा सबैमा बुझाउनुपर्नेमा बताए ।

जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्लाका सम्पूर्ण निकाय, संघसंस्था एकढिक्का भएर हरेक दिन बिहान ८ बजेदेखि एक महिनासम्म सो अभियान चलाइने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताएका छन् ।

उक्त अभियानको संचालन नेपाली सेनाको सूर्यविनायकस्थित वीरदलगणका गणपति शिवप्रसाद पौडेलको संयोजकत्वमा हुनेछ ।