इनरुवा, मङ्सिर ६ । सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनको बुधबार बिहानै गरिएको हत्याका विरोधमा आज सुनसरीका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरिएको छ ।
उनको हत्यारा पक्राउ गर्नुपर्ने माग गर्दै सुनसरीको विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको स्थानीय नइम अन्सारीले बताए । प्रहरीले शान्ति सुरक्षा दिन नसकेको आरोप लगाउँदै सुनसरीका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरिएको हो ।
सुनसरी दुहबी, सदरमुकाम इनरुवा, जमुवा नहर, भोक्राहालगायतका स्थानमा आज बिहानैदेखि स्थानीय राजमार्गमा टायर बालेर राजमार्ग अवरोध गरेका हुन् ।
हत्या गरिएका हुसेनलाई शहीद घोषणा गर्नुपर्ने र हत्यारा पक्राउ गरी कडा भन्दा कडा कारवाही गरिनुपर्ने पीडितलाई क्षतिपूर्ति दिनुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्नेलगायतका पाँच सूत्रीय माग राख्दै सुनसरीको विभिन्न ठाउँमा प्रदर्शन गरिएको स्थानीयवासी हजरत हुसेनले बताए ।
सदरमुकाम इनरुवा, जमुवा नहर, भोक्राहामा गरिएको बन्द अहिले खुलेको छ भने कोशी राजमार्गको विराटनगर र धरान सडकखण्डमा प्रदर्शन जारी रहेको स्थानीयवासीले बताएका छन् ।
स्थानीयवासीले फिदाको शवलाई दुहबी बजारमा राखेर प्रदर्शन गरिरहेको स्थानीय नइम अन्सारीले बताए । दुहबीमा विरोध प्रदर्शनका कारण यातायातका साधन अवरुद्ध हुँदा यात्रुलाई आवतजावतमा कठिनाइ भएको छ ।
सो सडकखण्डमा अति आवश्यक सवारी साधनबाहेक कुनै पनि सवारी साधन चल्न सकेका छैनन् ।