राजापुर, मङ्सिर ६ । शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने भन्दै बर्दियाको मधुवन नगरपालिका प्रमुख गणेशबहादुर क्षेत्रीले आफ्नो तलब भत्ताबाट विद्यालयलाई सहयोग गरेका छन् ।
नगर प्रमुख भएबापत राज्यले दिने सेवा सुविधा सामाजिक सेवामा लगाउने घोषणा गरेका क्षेत्रीले तलब भत्ताको रकमले सहयोग गर्नको कार्य शुरु गरेका हुन् । राजनीति पैसा कमाउनका लागि नभएर जनताका लागि गर्ने उनको भनाइ छ ।
उनले नगरपालिका–१ सूर्यपटुवा अन्तर्गत त्रिभुवन माध्यमिक विद्यालयलाई तीन महीनाको तलब रु एक लाख पाँच हजार सहयोग गरेका छन् ।
होटल व्यवस्थापन कक्षा सञ्चालन र भौतिक पूर्वाधार विकासका लागि आयोजित श्रीमद् भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ तथा शैक्षिक महोत्सवमा सो रकम सहयोग गरेका हुन् ।
यहाँबाट नै आफ्नो सामाजिक कार्यको थालनी छु– उनले भने । क्षेत्रीले यसअघि एक महीना बराबरको तलब बिरामीको उपचारका लागि खर्च गरेका छन् ।
प्रत्येक वडामा प्रविधिक कक्षा सञ्चालनार्थ र भौतिक अवस्था कमजोर रहेका विद्यालयलाई सहयोग गर्ने उद्देश्य लिएको जनाउँदै क्षेत्रीले आफ्नो तलब रकम सबै जनताकै करको रकम भएकाले जनतालाई नै सहयोग गर्ने बताए ।