समृद्ध नेपाल, सुखी नेपालीको सपना यही सरकारले साकार पार्ने : अध्यक्ष दाहाल

चितवन, मङ्सिर ६ । अव्यवस्थित बसोबास र सुकुम्वासी समस्याको उचित समाधान गर्न सरकार गम्भीर भएर लागिपरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् ।

आज भरतपुर महानगरपालिका–२४ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै उनले वातावरणमैत्री वडा घोषणा कार्यक्रममा सुकुम्वासी समस्या समाधान गर्न नीतिगत रुपमा छलफल भइरहेको जनाएका छन् । उक्त अवसरमा उनले सुकुम्वासी समस्या चाँडै समाधान हुने बताएका छन् ।

कम्युनिष्ट पार्टीको शक्तिशाली सरकारले विकास नगरे अरू कसैले पनि गर्न नसक्ने भन्दै उनले समृद्ध नेपाल, सुखी नेपालीको सपना यही सरकारले साकार गर्ने दाबी गरेका छन् । नारायणी र राप्ती नदीको तटबन्ध यसै वर्षबाट थालिने उनले जनाएका छन् ।

अध्यक्ष दाहालले राप्ती र नारायणी नदीको तटबन्धसहितको चक्रपथको विस्तृत अध्ययन प्रतिवेदनको काम यसै वर्षबाट थालिने उनको भनाइ छ ।

उनले भने– म आफू चितवनको जनप्रतिनिधि भएकाले पनि चितवनको विकासमा मेरो चिन्ता र चासो बढी नै छ, चितवन, अनि समग्र देशको विकास र समृद्धिमा लाग्नुको विकल्प छैन ।

अध्यक्ष दाहालले विगत १२/१५ महीनामै भरतपुर महानगर र सिङ्गो चितवन जिल्लाको विकास तीव्र गतिमा भइरहेको बताएका छन् । भरतपुर महानगरपालिकाले अगाडि बढाएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान र सिटी हल छिट्टै बन्ने उनको भनाइ छ ।

कार्यक्रममा भरतपुर महानगरप्रमुख रेनु दाहालले भरतपुर–२४ ले वातावरणमैत्री वडा घोषणाका सम्पूर्ण मापदण्ड पूरा गरी वातावरणमैत्री वडा घोषणा गराउन सफल वडावासीलाई धन्यवाद ज्ञापन गर्दै अन्य वडालाई पनि क्रमशः वातावरणमैत्री वडा घोषणा गर्दै लैजाने बताइन् ।

भरतपुर महानगरलाई नमूना बनाउन लागिपरेको भन्दै महानगरप्रमुख दाहालले भनिन् भरतपुर महानगरपालिका महत्वकांक्षी योजनाका साथ अगाडि बढिरहेको छ, ती योजनालाई सम्पन्न गर्न हामी अग्रसर भएर लागिरहेका छौँ । सिटी हल निर्माण, रिंगरोड, लिंकरोडका कामहरु तीव्र गतिमा भइरहेको उनले जनाएकी छिन् ।