नेपालले कमजोर प्रस्तुतिका कारण छैटौं विकेट गुमायो

काठमाडौं, श्रावण ५। सिंगापुरमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटको तेस्रो खेलमा नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ । पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा अफगानिस्तानले दिएको १९१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको नेपालले व्याटिङमा चुकेको छ ।

नेपालले १० ओभर ४ बलमा मात्र २० रन जोडेर महत्वपूर्ण ६ विकेट गुमाएको छ । अफगानिस्तानका कप्तान नभिन उल हकले आठौं ओभरमा ह्याट्रिक विकेट लिँदै नेपालको ब्याटिङ ध्वस्त पारिदिएका छन् । नेपालका कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकिरहेका छैनन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९ ओभर ४ बलमा अलआउट हुँदै १९० रन बनाएको थियो । नेपालविरुद्ध उत्कृष्ट सुरुवात गरेपनि खेलको बिचतिर ब्याट्सम्यानहरु चल्न नसक्दा अफगानिस्तानले उच्च स्कोर बनाउन सफल भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले पहिलो विकेटको लागि ओपनरद्वय इब्राहिम जाड्रन र नाभिद ओबैडले ७५ रनको साझेदारी गरेको थियो । स्पिनर साहब आलमको बलमा आउट हुनु भन्दा पहिला इब्राहिमले ४१ बलमा ५ चौका एक छक्काको मद्दतमा ४३ रन जोडेका थिए । यस्तै पवन शर्राफको बलमा आउट भएका नाभिदले ३३ रन बनाएका थिए । तर, त्यसपछि आएका ब्याट्सम्यानले उलेख्य रन बनाउन सकेनन् । अफगानिस्तानका टारिक स्टानिक्जाईले २७, कप्तान नभिन उल हकले २० तथा इमरान मोहमदीले १८ रन बनाए । नेपालका लागि आलमले १० ओभरमा ४६ रन खर्चिएर ३ विकेट लिएका छन् । त्यस्तै कप्तान सन्दिप र पवनले समान दुई दुई विकेट लिए । सन्दीपले ३० रन खर्चिए भने पवनले १९ रन खर्चिए ।

विश्वकपमा छनोट हुने लक्ष्यसहित सिंगापुर पुगेको नेपाली टोली आज टेष्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपको यात्रा सफल बनाउने सोचमा छ । अघिल्ला दुई खेलको लगातार जितेले नेपाललाई थप हौसला थपिएको छ । नेपालले पहिलो खेलमा घरेलु टोलि सिंगापुरलाई ४ विकेट तथा दोस्रो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरिसकेको छ । छनोटमा नेपाल ४ अंकसहित दोस्रो स्थान हासिल गरिरहेको छ । समान अंक भएपनि अफगानिस्तान शिर्ष स्थानमा छ । नेट रन रेटमा नेपालभन्दा अफगानिस्तान अघि छ । नेपालले चौथो खेल शुक्रबार सिंगापुरसँग खेल्ने छ । जारी ४ राष्ट्र सम्मलित एसिया क्षेत्रको छनोट डबल राउण्ड रोबिनका आधारमा हुने छ । छनोटको शिर्ष टोली अर्को बर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुने छन् । नेपालले अहिलेसम्म ७ पटक यु – १९ को विश्वकप खेलिसकेको छ ।