इपिएलका लागि विदेशी खेलाडी भित्र्याइँदै

काठमाडौँ, मङ्सिर ७ । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि सहभागी टोलीले धमाधम विदेशी खेलाडी भित्र्याउन शुरु गरेका छन् ।

प्रत्येक टोलीले यही मङ्सिर २२ गतेदिख शुरु हुने प्रतियोगिताका लागि तीन/तीन जना विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियम अनुसार क्लबहरुले विदेशी खेलाडीलाई क्लबमा भित्र्याउन शुरु गरेका हुन् ।

चितवन टाइगर्सले आयरल्याण्डका विकेट किपर पाउल स्टिलिर्ङलाई आजै आफ्नो क्लबमा भित्र्याएको छ । चितवनले आज प्रेस विज्ञप्ति जारी गरी स्टिलिर्ङलाई क्लबमा अनुबन्ध गरेको बताएको छ । अनुबन्धको रकम भने खुलाइएको छैन् ।

निकै अनुभवी खेलाडी स्टिलिर्ङसँग बङ्गलादेश प्रिमियर लिग खेलेको अनुभव समेत रहेको क्लबले जानकारी गराएको छ । त्यसैगरी ललितपुर प्याट्रियट्सले आजै तीन विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

क्लबका अनुसार ललितपुरले यस संस्करणका लागि भारतीय खेलाडी जय किशन कोल्शावाला, सन्नी पटेल र गौरब तोमारलाई क्लबमा अनुबन्ध गरेको हो ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले जय किशन र सन्नीको अनुबन्ध थप गरेको हो । दुवैले गत सिजन ललितपुरबाटै खेलेका थिए । गौरब भने पहिलोपटक ललितपुरबाट खेल्न लागेका हुन् ।

पुस ७ गते सकिने प्रतियोगितामा छ शहरका छ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने आयोजकले बताएको छ ।