शिक्षालाई उत्पादनसँग जोडेर अगाडि बढ्नुपर्छ : शिक्षामन्त्री

भक्तपुर, मङ्सिर ७ । सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल पार्नका लागि शिक्षालाई विज्ञान र प्रविधिसँग जोडेर अगाडि बढ्नुपर्ने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

आज विश्वविद्यालय अनुदान आयोगको २५औँ वार्षिक उत्सव तथा रजतजयन्ती कार्यक्रममा बोल्दै उनले शिक्षालाई विज्ञान, प्रविधि, खोज र अनुसन्धानसँग जोडेर लैजाने तथा त्यसलाई प्रयोग गर्नसके मात्रै देश समृद्ध हुने बताए ।

परम्परागत शिक्षा र परीक्षामुखी शिक्षा काम नलाग्ने भन्दै उनले भने– परम्परागत शिक्षालाई निरन्तर रुपमा लैजान हामी आएका होइनाँै, नेपालको शिक्षालाई विकाससँग जोड्न आएका हाँै, परीक्षामुखी शैक्षिक पद्धतिले हाम्रो समस्या समाधान हुँदैन, अब शिक्षालाई उत्पादनसँग जोडेर अगाडि बढ्नुपर्छ ।

आगामी एक वर्षभित्र विद्यालय पहुँचभन्दा बाहिर रहेका सम्पूर्ण बालबालिकालाई विद्यालयमा ल्याएर राष्ट्रिय रुपमा देशलाई पूर्ण साक्षर घोषणा गर्ने तयारीमा जुटेको मन्त्री पोखरेलको भनाइ छ ।

साथै सबै शिक्षण संस्थालाई हरित अभियानमा जोड्ने भन्दै उनले उच्च शिक्षा क्षेत्रमा रहेको अराजकता र बेथितिलाई अब सुधार गरेर लैजाँदै विश्वविद्यालयलाई राष्ट्रिय वा प्रदेश के हो त्यो वर्गीकरण गर्दै राष्ट्रिय र प्रदेश अन्तर्गत लैजाने तयारी भइरहेको बताए ।

संघीय शिक्षा नीति निर्माण प्रक्रियामा सरकार अगाडि बढेको जनाउँदै मन्त्री पोखरेलले यसको पहिलो मस्यौदा तयार भएको र अब सातवटै प्रदेशबाट सुझाव लिएर दोस्रो मस्यौदा तयार गरी निचोडमा पुग्ने बताए ।

कार्यक्रममा अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीले उच्च शिक्षाको अवस्था भयावह रहेको उल्लेख गर्दै शिक्षामा आएको चुनौतीबारे छलफल गर्दै अगाडि बढ्ने बताए ।