सशस्त्र प्रहरी निरीक्षक तथा सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालीम सम्पन्न

काठमाडौँ, मंसिर ९ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. १२ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम तथा सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम सम्पन्न भएको छ ।

आज सोही प्रतिष्ठानमा आयोजित तालिमको दीक्षान्त कवाजमा सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिममा सर्वप्रथम भएका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक डम्बरबहादुर क्षेत्रीलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले खुकुरी प्रदान गरे । सोही अवसरमा उनले सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिममा सर्वप्रथम भएका प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक निरीक्षक सन्दिप भट्टलाईसमेत खुकुरी प्रदान गरे ।

उक्त विशेष समारोहमा प्रशिक्षार्थी अधिकृतहरुले गृहमन्त्री थापाको सम्मानमा इज्जत अर्पण कवाज प्रस्तुत गरेका थिए । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सो अवसरमा दिक्षीत भई जाने प्रशिक्षार्थीहरुलाई कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गरे ।

सशस्त्र प्रहरी बलका राष्ट्र सेवकहरुले त्याग, परिश्रम र बीरताको प्रदर्शन गर्दै संगठनलाई देशको महत्वपूर्ण सुरक्षा संयन्त्रको रुपमा स्थापित गरेको उल्लेख गर्दै उनले दायित्व निर्वाहका क्रममा जीवनको उत्सर्ग गरेका बीर सशस्त्र प्रहरी कर्मचारीको बलिदानको स्मरण गर्नुका साथै घाइते तथा अंगभंग भएका राष्ट्रसेवकहरुको स्थास्थ्यलाभको कामनासमेत गरेका छन् ।

उनले देशमा विधिको शासन, जनताको नैसर्गिक हक अधिकारको संरक्षण, भ्रष्टाचार मुक्त समाजको निर्माण, सबै जातजाति भाषा भाषिहरुबीच भाइचाराको सम्बन्ध बिकास गर्दै सुशासन र विकासबाट नेपाल सरकारको एकमात्र संकल्प समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न नेपाल सरकार निरन्तर लागि रहेको बताए ।

 गृहमन्त्री थापाले सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, सशस्त्र समुहहरुको गतिविधि नियन्त्रण, औद्योगिक सुरक्षा तथा राजस्व चुहावट नियन्त्रण, विपद उद्वार, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, हुल तथा दंथा व्यवस्थापन लगायतका नेपाल सरकारद्वारा प्रदान गरिएको कार्यादेशहरुमा सशस्त्र प्रहरी बल नेपालले प्रदर्शन गरेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरे ।

उनले आपत विपद्मा जनतालाई सेवा, सुरक्षा र सहयोग प्रदान गर्न सुरक्षाकर्मीहरु जस्तोसुकै परिस्थितिमा पनि अनुशासित र कर्तव्यनिष्ठ भई अन्य निकायहरुसँग समेत आवश्यक समन्वय गर्दै उत्कृष्ट कार्य सम्पादनमा निरन्तर क्रियाशिल रहिरहनुपर्नेमा जोड दिए ।

गृहमन्त्री थापाले सशस्त्र प्रहरी बल नेपाललाई समयानुकुल स्रोतसाधन सम्पन्न बनाउन नेपाल सरकार गृहमन्त्रालय कटिबद्ध रहेको जनाए । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापन गर्नेे क्रममा देशका विभिन्न भागहरुमा तैनाथ रहि राष्ट्रियताको जगेर्ना एवं नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपत विपदमा उद्वार कार्यमा राज्यले सुम्पिएको दायित्व पुरा गर्दै प्रभावकारी रुपले परिचालित भएर संगठनले परिणाममुखी कार्य सम्पादन गर्दै आईरहेको बताए ।

राष्ट्र सेवक सशस्त्र प्रहरी कर्मचारीहरु कार्यक्षेत्रमा खटिँदा सधैं जिम्मेवार भई व्यावसायिकतालाई हृदयंगम गरी व्यक्तिगत स्वार्थलाई थाति राखेर सदैव सेवाभावका साथ देश र जनताको सेवा र सुरक्षामा समर्पित रहिरहनुपर्ने उनको भनाइ छ । सशस्त्र प्रहरी महानिरीक्षक खनालले दीक्षित अधिकृतहरुलाई आगामी दिनमा कार्यक्षेत्रमा खटिदा सम्पूर्ण नागरिकलाई नै आफ्नो परिवारका सदस्य सम्झिएर सोही भावका साथ सेवा र सुरक्षामा तन, मन र वचनका साथ प्रस्तुत भई उत्कृष्ट कार्य सम्पादन गर्न निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सुरक्षाकर्मीहरुले सदैव राष्ट्र र जनताका लागि आफ्नो सम्पूर्ण सुख सुविधाहरुलाई त्यागेर जिम्मेवारी निर्वाह गर्दै देश र जनताले सधैं गर्व गर्ने सच्चा सुरक्षाकर्मी बन्न सक्नुपर्ने भन्दै आर्थिक विकास र समृद्धिका लागि सु–व्यवस्था र सुशासनयुक्त वातावरण निर्माण गर्ने नेपाल सरकार गृहमन्त्रालयको ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना तथा निर्देशनहरु परिपालना गर्दै शान्ति सुरक्षाका लागि अहोरात्र खटिइरहने प्रतिवद्धता जनाए ।

कार्यक्रममा सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले स्वागत मन्तव्य तथा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै प्रशिक्षार्थीहरुलाई समयानुकुल र बैज्ञानिक ढंगले प्रशिक्षण प्रदान गरि योग्य अधिकृत निर्माणमा जोड दिइएको बताए ।

व्यावसायिक सिप, दक्षता र नेतृत्व क्षमता विकासमा यस्ता आधारभूत तालिमको महत्वपूर्ण भुमिका रहने उनको भनाइ छ । उनले आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गर्नु कठिन कार्य भएको भन्दै तालिम संचालनमा सहयोग र सहकार्यका लागि नेपाल सरकार गृहमन्त्रालय तथा अन्य विभिन्न निकायहरु प्रति आभार व्यक्त गरे ।

सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिममा ३ जना महिलासहित कुल ५४ जना तथा सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिममा १ जना महिलासहित कूल १० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।