काठमाडौँ, मङ्सिर ९ । आज धितोपत्र बजारमा शेयरको मूल्यमा गिरावट आएको छ । कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ८२ अंकले ओरालो लागेर एक हजार १६६ दशमलव ४३ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले बताएको छ ।
प्रतिशतका आधारमा आज बजार एक दशमलव २५ विन्दुले ओरालो लागेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत तीन दशमलव शून्य आठ विन्दुले ओरालो लागेर २४७ दशमलव ९८ विन्दुमा पुगेको छ ।
स्टकका अनुसार कूल १५४ कम्पनीको आठ लाख ४० हजार ५५ कित्ता शेयर रु २५ करोड ६ लाख ४२ हजार ४७५ मूल्यमा खरिद बिक्री भएको छ ।
कारोवार भएका कूल दश उपसमूहमध्ये आज सबै उपसमूहको शेयर ओरालो लागेको छ ।
बैंकिङ १२ दशमलव ६४, होटल २८ दशमलव ८७, विकास बैंक छ दशमलव ४७, जलविद्युत् २४ दशमलव ८९, वित्त पाँच दशमलव १६, निर्जीवन बीमा ९६ दशमलव ७६, उत्पादन ५० दशमलव ५४, अन्य सात दशमलव ७१, माइक्रोफाइनान्स २२ दशमलव ४५ र जीवन बीमा ४४ दशमलव ४० अङ्कले ओरालो लागेका छन् ।