‘ए’ डिभिजन लिग प्रतियोगीताको चौथो चरणका खेल आजबाट

काठमाडौँ, मङ्सिर १० । आजदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गतकोे चौथो चरणका खेल खेलिँदैछन् ।

आज शुरुवाती दिनमा हुने तीन खेलमा दुई खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा र एक खेल हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताएको छ ।

आजको पहिलो खेलमा दुई अपराजित टोली सङ्कटा क्लब र विभागीय टोली त्रिभुवन आर्मी एन्फा कम्प्लेक्समा प्रतिष्पर्धा गर्नेछन् । सङ्कटा यसअघिका लगातार तीन खेल जित्दै ९ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा पुगेको छ भने आर्मी दुई जित र एक बराबरीको नतिजासहित सात अङ्कका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ ।

यस्तै एन्फा कम्प्लेक्समा हुने दोस्रो खेलमा चौथो स्थानको थ्रीस्टारले एनआरटीसँग खेल्दैछ । लगातार दुई खेल जितेर उत्कृष्ट शुरुवात गरेको थ्रीस्टार पछिल्लो खेलमा मनाङ मस्र्याङ्दी क्लबसँग पराजित भएको थियो ।

एनआरटीले लिगको उद्घाटन खेलमा आर्मीसँग अङक बाँड्नुबाहेक त्यसयता राम्रो प्रदर्शन देखाउनबाट चुकेको छ । तेस्रो खेलमा हल्चोकस्थित एपिएफ मैदानमा च्यासल युथ क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । दुवै टोलीले लिगमा अहिलेसम्म मिश्रित नतिजा निकालेका छन् ।

एक जीत, एक बराबरी र एक हारसँगै दुवै टोलीको समान चार/चार अङ्क छ । लिग अन्तर्गत चौथो चरणको खेलको पूर्वसन्ध्यामा सबै क्लबहरूले जित निकाल्ने लक्ष्यसहित प्रतिस्पर्धामा उत्रने जनाएका छन् । थ्रीस्टारका सहायक प्रशिक्षक अशोक राईले आफूहरू जित्नकै लागि मैदानमा उत्रिने बताएका छन् ।

एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले थ्रीस्टार बलियो क्लब रहेकाले ऊसँग बराबरीको नतिजाका लागि खेल्ने बताए । आफूहरूको मुख्य लक्ष्य भेनेकै तीन अङ्क रहेको त्रिभुवन आर्मीका प्रशिक्षक नवीन न्यौपानेको भनाइ छ ।

केही स्टार खेलाडी घाइते हुनाले आज आर्मीलाई केही अप्ठेरो पर्न सक्नेछ । नवयुग श्रेष्ठ घाइते छन्, सुमन अर्याल दोहोरो पहेँलो कार्डले खेल्न पाउँदैनन् भने प्रमोशनको चरणमा भएकाले जर्ज प्रिन्स कार्कीले लिगका बाँकी खेल खेल्न पाउने छैनन उनले भने । सङ्कटाका प्रशिक्षक सल्यान खड्गीले तयारी राम्रो रहेकाले आज आर्मीविरुद्ध जित निकाल्ने लक्ष्य रहेको जनाए ।

नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले च्यासल आफूहरूका लागि चुनौतीको टोली भएकाले बल पोजिसन राख्दै खेल आफ्नो पक्षमा पार्ने बताए ।