काठमाडौँ,साउन ५ । सिङ्गापुरमा जारी आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट खेलमा आज नेपाल अफगानिस्तानद्वारा १४१ रनले हार बेहोरेको छ । १९१ रनको लक्ष्य पछ््याउने क्रममा नेपालले २६ ओभरमा सबै विकेट गुमाउँदै ४९ रन मात्र बनाउन पुग्यो । खराब शुरुवात गरेको नेपालले उन्नाइस रन बनाउँदा १०।१ ओभरमा नेपालले आफ्ना महत्वपूर्ण ६ वटा विकेट गुमाएको थियो ।
पवन सर्राफले २६ रन बनाएका उनले ५२ बलको सामना गरी तीन चौका प्रहार गरे । अन्य सबै ब्याटस्म्यान अफगानिस्तानका बलससामू चुक्न पुगे भने चारजना खेलाडी शून्यमै आउट भए । अफगानिस्तानका लागि मुजीब जर्दान र नवीन उल हकले चार÷चार विकेट लिएका थिए भने जर्दानले नौ ओभरमा पाँच मेडन राखि मात्र सात रन खर्चे । नवीनले चार ओभरमा एक मेडन राखेर आठ रन दिए । उनले तेस्रो ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरी, पाँचौ बलमा प्रनित थापामगर र छैटौँ बलमा अनिल शाहलाई आउट गरी ह्याट्रिक समेत गरे । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९।४ ओभरमा सवै विकेट गुमाउँदै १९० रन बनाउन सफल भयो ।
अफगानिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान इव्राहिम जर्दानले ४३ रन बनाए । उनले ४१ बलको सामना गर्दै एक छक्का र पाँच चौका हाने । नविद ओवाइदले ३३, तारिक स्टाक्निजाईले २७, नविन उल हकले २० र इमरान मोहम्मदीले १८ रन बनाए । बलिङतर्फ नेपालका लागि शाहव आलमले तीन विकेट लिएका थिए । उनले १० ओभर बलिङ गरी ४६ रन खर्चे भने सन्दिप लामिछाने र पवन सर्राफले दुई÷दुई विकेट लिए । सर्राफले सात ओभरमा दुई मेडन राखि १९ रन तथा सन्दिपले ९।४ ओभर बलिङ गर्दै दुई मेडन राखि ३० रन दिए । नेपालले यसअघि पहिलो खेलमा सिङ्गापुर तथा दोस्रो खेलमा मलेसियालाई पराजित गरेको थियो ।