विद्यालयलाई ६ लाखको जग्गा

बद्री पन्त

जाजरकोट, मंसीर १० । जाजरकोट नलगाड नगरपालिका ३, का अभिभावकले विद्यालयलाई भवन निर्माणका लागि जग्गा किनीदिएका छन् । अभिभावकले चन्दा रकम उठाएर सोही ठाउको सूर्योदय माध्यमिक विद्यालय कैनाको भवन वनाउने जग्गा किनी दिएका हुन् ।

टट्टाका गोरखबहादुर पुन, औंसी घर्ती तथा चाउलेचौरका मिश्रीबहादुर पुन र मनबहादुर विष्टले ६ लाख चन्दा उठाएर विद्यालयका लागि १० आना जग्गा किनी दिएका हुन् । उनीहरुले डेड् लाखका दरले रकम उठाइ विद्यालयको नाममा जग्गा किनेका हुन् । उनीहरु सुर्योदयमा माविका लागि मनकारी अखभिभावक बन्न सफल भएका छन् । विद्यालयमा भवन निर्माणका लागि जग्गा नहुदा ब्यक्तिगत रुपमा रकम उठाएर जग्गा किनी दिएको अभिभावक विष्टले बताउनु भयो ।

विद्यालयको खेलमैदान साँगुरो छ । त्यही खेलमैदानमा शिक्षा विकास समुन्वय इकाइबाट प्राप्त अनुदानले ४ कोठे भवन बन्न लागेको थियो । त्यसैले खेलमैदानलाई थप सागुरो बन्न नदिन विद्यालयको सिमानासँग जोडीएको जग्गा खरीद गरीदिएको विष्टको भनाइ छ ।

निमावि देखि मावि तहसम्म चन्दा भरमा संचालन भएको विद्यालयमा आर्थिक अभाव हुदा अभिभावकले जग्गा किन्ने पर्ने अवस्था आएको हो । ठाउ नहुदा खेलमैदानमा बन्न लागेको भवन भत्काएर नया किनेको जग्गामा बनाएको औसी घर्तीले बताउनु भयो । विद्यालयको खेलमैदानको क्षेत्रफल २४ मीटर लम्बाई र १८ मीटर चौडाई मात्र रहेको छ ।

त्यसैमा भवन बनाउदा खेलमैदान नै नबच्ने अवस्था आएकोले व्यक्तिगत रुपमा रकम उठाएर जग्गा किन्न वाध्य भएको उउहाँको भनाई छ । हामी चार जनाले सुन, भैसी, खसी लगायत विक्री गरेर जग्गा किन्नका लागि उक्त रकम जुटाएको घर्तीको भनाइ छ ।

१ देखि १० कक्षासम्म पढाई हुने यस विद्यालयमा पुर्वाधार अभाव रहेको प्रधानाध्यापक बहादुर पन्तले बताउनु भयो । ‘१० वटा कोठा मात्र भएको विद्यालयमा थप चार कोठाको भवन बनाउन जग्गाको खाँचो थियो,’ प्रधानाध्यापक पन्तले भन्नु भयो । यसै विद्यालयका ४ जना अभिभावकले जग्गा किनी दिएर विद्यालयको समस्या समाधान गर्न सह्रानिय कार्य गरेको प्रअ पन्तको भनाइ छ ।

पुराना भवन पनि जीर्ण अवस्थामा रहेका छन । विद्यालयमा ४ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयको निम्न माध्यमिक र माध्यमिक तहमा शिक्षक दरबन्दि नहुदा निजी खर्चमा शिक्षक राखेर पठनपाठन संचालन गर्न वाध्य भएको पन्तको भनाई छ ।