काठमाडौँ, साउन ५ । व्यवस्थापिका–संसद्को बैठकमा राजधानी काठमाडौँका विभिन्न स्थानका सडक धरापमा परिणत भएको भन्दै नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले आक्रोश व्यक्त गरे । उनले सम्बन्धित निकायलाई त्यस्ता धराप सडकहरु पुरी जनताको आवत जावतमा सहज बनाउन आग्रह गरे ।
संसद्को विशेष समयमा बोल्दै उनले आफ्नो निर्वाचन क्षेत्रमा ढलमा बगेर ज्यान गुमाएकी विनिता फुयाँलको स्मृतिमा अक्षयकोष स्थापना गर्न आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्ने घोषणा गरे । सांसद भीम रावलले निर्वाचन क्षेत्र निर्धारण आयोग अविलम्ब गठनको माग राखे । प्रदेश र संघको निर्वाचनका लागि क्षेत्र निर्धारण गर्न जरुरी भएकाले आयोग गठनको आवश्यकता जरुरी भएको उनको भनाइ थियो । त्यसैगरी सांसद अभिषेकप्रताप साहले भैरहवा भन्सार कार्यालयका केही पदाधिकारी आर्थिक अनियमिततामा लिप्त रहेका र राजस्व छली भएकाले त्यसको अन्त्यका लागि आवश्यक कारबाही गर्न सदन र सरकारको ध्यानाकर्षण गराए । उनले त्यससँगै संसदीय छानबिन टोली गठनको माग पनि गरे ।
सांसद शिवचन्द्र चौधरीले एक हजार २०० मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिइएकामा आपत्ति जनाए । सांसद अनुराधा थापामगरले ढलमा बगेर ज्यान गुमाएकी विनिता फुयाँलका अभिभावकलाई सम्बन्धित अधिकारी र ठेकेदारबाट क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने माग राखिन् । कार्यकारी आदेशबाट राज्य सञ्चालन गर्न खोजेको आरोप सरकारमाथि लगाउँदै सांसद जनकराज जोशीले संसद्को विशेषाधिकारमा समेत त्यसले प्रतिकूल असर पर्न सक्ने बताए । सरकारका कार्यकारी आदेश सदनबाट अनुमोदन हुनुपर्ने उनले भने । सांसद आङ्दावा शेर्पाले रामेछापको हालैको बाढीपहिरोका कारण भएको जनधनको क्षतिको विवरण प्रस्तुत गर्दै पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गराउन सदन र सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै नेकपा (एमाले)का यज्ञराज सुनुवार, दिलमान पाख्रिन, गुरुप्रसाद बुर्लाकोटी, कमलाकुमारी घिमिरेले धादिङ र रामेछापलगायत ठाउँका विभिन्न स्थानमा गएको बाढी पहिरोले जनजीवन प्रभावित भएको भन्दै तत्काल राहत दिलाउनुपर्ने माग गरे ।