उपत्यकामा मापसे गरी सवारी चलाउने महिला बढ्दै

काठमाडौँ, मंसिर ११ । काठमाडौँ उपत्यकामा पछिल्लो समय मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको संख्यामा वृद्धि हुँदै जान थालेको छ ।

आर्थिक वर्ष २०७४/७५ को तुलनामा चालु आवमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको संख्यामा वृद्धि भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आव २०७४/७५ मा ३२६ महिलाले मापसे सम्बन्धी चेतनामूलक कक्षा लिएका थिए ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तका अनुसार चालु आवको चार महीनामा मापसे गरी सवारीसाधन चलाएका ३४१ महिलाले सो कक्षा लिइसकेका छन् । महीलामा मापसे गरी सवारीसाधन चलाए पनि प्रहरीले जाँच गर्दैन भन्ने मानसिकता रहेकाले पछिल्लो समय मापसे गरेर सवारी चलाउने महिलाको संख्या बढेको उनको भनाइ छ ।

लेन अनुशासनतर्फ आव २०७४/७५ मा तीन हजार २५२ महिलाले चेतनामूलक कक्षा लिएका छन् भने चालु आवको चार महीनामा ७५२ महीलाले सो कक्षा लिएका छन् ।

आव २०७४/७५ मा सवारी दुर्घटना गराउने २० महिलाले कक्षा लिएका थिए भने चालु आवको चार महीनामा सो कक्षा लिने महीलाको संख्या दुई रहेको महाशाखाले बताएको छ

। हाल देशभर ३२ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने काठमाडौँ उपत्यकामा मात्र झण्डै आठ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।