सामाजिक सुरक्षा दिवस सबैलाई समेट्ने नयाँ प्रणालीको प्रारम्भ : प्रम ओली

काठमाडौँ, मंसिर ११ । ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको थालनी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

आज पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस दिवसको दिनबाट सरकारले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको शुरुवात भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा मङ्गलबारदेखि सामाजिक सुरक्षा योजना लागू भएको जनाउँदै आफूले अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको बताए ।

उनको सन्देशमा भनिएको छ– श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाज अनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा हामी मङ्गलबारबाटै प्रवेश गर्दैछौँ ।

प्रधानमन्त्री ओलीले सबै देशवासीहरुलाई सामाजिक सुरक्षा योजना शुभारम्भको अवसरमा सबैलाई सुरक्षित भविष्यको शुभकामनासमेत सन्देशमार्फत दिएका छन् । मङ्गलबार पहिलो पटक सरकारले सामाजिक सुरक्षा दिवस मनाउँदैछ ।

सिङ्गो नेपाल र नेपालीका लागि सामाजिक सुरक्षा योजना आम श्रमजीवी नागरिकका लागि गौरवको विषय भएको भन्दै नयाँ युगका थालनी भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको भनाइ छ ।

उनले योजनाको सफल कार्यान्वयनका लागि रोजगारदाता, श्रमिकलगायत सरोकारवाललाई सहयोग गर्न अनुरोध गरेका छन् ।