काठमाडौँ,साउन ५ । उपत्यकाभित्र रहेका सडकका खाल्डाखुल्डी १५ दिनभित्र पुर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएपछि मेलम्चीको पाइप बिच्छ्याउन खनिएका सडकको पुनःस्थापना कार्यलाई तीव्रता दिइएको छ ।
सडक जीर्ण तथा धराप भएका कारण उपत्यकामा एक बालिकाको मृत्यु भएपछि प्रधानमन्त्री देउवाले साउन १ गते आइतबार सरोकारवाला निकायका प्रतिनिधिलाई बोलाई १५ दिनभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएका थिए । पुनःस्थापना कार्यलाई समन्वय गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा संयन्त्र पनि गठन भइसकेको छ । मेलम्ची आयोजनाबाट प्राप्त हुने खानेपानी वितरणका लागि काठमाडाँै उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइप बिच्छ्याएको थियो । मनसुन सुरु भइसकेकाले थप ठाउँमा पाइपलाइनको कार्य गर्दा सर्वसाधारण तथा सवारी साधनको आवागमनमा असर पर्ने भएकाले निर्देशनालयले बाँकी सडकखण्ड खन्न पूर्णरुपमा बन्देज लगाएको छ । उपत्यकामा खनिएका सडकका कारण दिनहु जसो भइरहेका दुर्घटनाप्रति निर्देशनालय गम्भीर भएको प्रवक्ता लीलाप्रसाद ढकालले बताएका छन्
। सामाखुसी क्षेत्रमा पाइप बिच्छ्याउने निर्देशनालयको कार्यक्रम नभएको र साउन १ गते प्रधानमन्त्री देउवाले उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी १५ दिनभित्र मर्मत गरिसक्न सम्बद्ध निकायलाई निर्देशन दिएकाले निर्देशनालयले पाइपलाइन बिच्छ्याउने क्रममा खनिएका सडकलाई दुरुस्त बनाउने प्रयासमा लागिरहेको ढकालले बताएका छन् । निर्देशनालयले थोक वितरण प्रणालीका लागि ६०.६ किलोमिटर पाइपलाइन बिच्छ्याउनुपर्नेमा हालसम्म पानी पोखरीहरुसम्म पानी प्रवाहका लागि महत्वपूर्ण ५१.५ किलोमिटरको काम सम्पन्न भइसकेको छ । त्यसैगरी, वितरण सञ्जाल सुधारका लागि ६७० किलोमिटर पाइपलाइन विस्तार गर्नुुपर्नेमा हालसम्म ६१० किलोमिटर पाइपलाइन बिच्छ्याइएको छ । उपत्यकामा पानी वितरण गर्न पानी भण्डारणका लागि महांकालचौर, पानीपोखरी, बाँसबारी, टिग्नी, बालाजु र खुमलटारका पानी पोखरीको काम सकिएको छ । प्रधानमन्त्री देउवाको निर्देशनपछि निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले काठमाडौँका विभिन्न स्थानमा निरीक्षण गरी बिग्रिएका सडकलाई तुरुन्तै मर्मत गर्न निर्माण व्यवसायीलाई स्थलगत रुपमै निर्देशन दिए ।
बत्तीसपुतली, रातोपुल, चावहिल, चुच्चेपाटी, कपन क्षेत्रमा बिग्रिएका सडकको मर्मत सुरु गरिएको निर्देशनालयले जानकारी गराएको छ । यी सडकलाई आगामी दश दिनभित्र सम्पन्न गर्ने गरी काम भइरहेको प्रवक्ता ढकालले बताएका छन् । कुल ७३० किलोमिटर वितरण सञ्जालमध्ये २३० किलोमिटर सडकमा र ५०० किलोमिटर पाइप पैदलमार्ग (फुटपाथ) मा बिच्छ्याइएको निर्देशनालयले जानकारी गराएको छ । दुईसय ३० किलोमिटरमध्ये पनि मूल सडकमा २६ किलोमिटर मात्र पाइप बिच्छ्याइएको ढकालले बताए । यसमध्ये २४ किलोमिटरमा अस्थायी कालोपत्र ‘प्राइम कोट’ गरी सकिएको छ । चावहिल र महाराजगञ्ज क्षेत्रका केही भागमा दुई किलोमिटर सडकमा ‘प्राइम कोट’ गर्न बाँकी छ । यसैगरी, चावहिल, चुुच्चेपाटी क्षेत्रमा बर्षाको पानी जम्न नदिन जम्मा भएको माटो फाल्ने काम शुरु गरिएको बताइएको छ । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको कार्य दु्रत गतिमा सम्पन्न गर्न सडक खन्नुपर्ने बाध्यता रहेको जनाउँदै निर्देशनालयले सडक खन्दा सेवा प्रदायकसँग समन्वय गरी काम अघि बढाइएको जानकारी गराएको छ ।
सडक खन्ने क्रममा पनि धुलो र हिलोको समस्या कम गर्न आयोजनाको वातावरण व्यवस्थापन योजना अनुसारका काम गरिँदै आएको निर्देशनालयको दाबी छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन अनुसार उपत्यकाका सडक मर्मत सम्भार तत्काल गरिने भनिए पनि सडकको अवस्था हेर्दा मर्मत नभएको प्रष्ट देख्न सकिन्छ । प्रधानमन्त्रीको निर्देशनको पालना गर्दै तत्काल सडकको अवस्थामा सुधार भए डरलाग्दा दुर्घटनाबाट उपत्यका बञ्चित हुन सक्ला ।