काठमाडौँ, मंसिर ११ । लामो समयदेखि निरन्तर रुपमा साहित्य लेखनको क्षेत्रमा सक्रिय रहँदै आएका कथाकार डा राजेन्द्र विमललाई वि.सं २०७४ को ‘रमेश विकल वाङ्मय पुरस्कार’ प्रदान गरिने भएको छ ।
हालसम्म सबैभन्दा धेरै पटक रक्तदान गर्ने समाजसेवी प्रेमसागर कर्मचार्यलाई ‘रमेश विकल–सुशीला समाज सेवा पुरस्कार’ प्रदान गर्ने निर्णय भएको रमेश विकल साहित्य प्रतिष्ठानले बताएको छ ।
यसैगरी वरिष्ठ साहित्यकार पुरुषोत्तम सुवेदीलाई ‘रमेश विकल सृजना पुरस्कार’ तथा बाल साहित्यकार सुशीला प्रधानाङ्गलाई ‘रमेश विकल बालसाहित्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका महासचिव विजय चालिसेले जनाएका छन् ।
संघर्षशील नारी व्यक्तित्व लक्ष्मी शर्मालाई ‘रमेश विकल–सुशीला संघर्षशील नारी सम्मान–पुरस्कार’ तथा वरिष्ठ तबला वादक शास्त्रीय सङ्गीतकार अच्युतराम भण्डारीलाई ‘रमेश विकल सङ्गीत पुरस्कार’ प्रदान गरिनेछ ।
प्रतिष्ठान कार्य समितिका सदस्य मातृका पोखरेलको संयोजकत्वमा साहित्यकारद्वय प्रल्हाद पोखे्रल र सीता भट्टराई सदस्य रहेको सिफारिश समितिको सिफारिशलाई प्रतिष्ठानले अनुमोदन गरी पुरस्कारको घोषणा गरेको हो ।
आगामी पुस १४ गते प्रतिष्ठानकै नवनिर्मित भवनमा साहित्यकारलाई पुरस्कृत गरिने छ । त्यसै दिन विकल स्मृतिसभासँगै भवन उद्घाटन गरिने कार्यक्रम रहेको प्रतिष्ठानले जानकारी गराएको छ ।