काठमाडौँ, मंसिर ११ । नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा अमेरिकी सरकार र जनताको महत्वपूर्ण भूमिका रहेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् ।
उनले शिष्टाचार भेटका लागि आफ्नै निवास खुमलटारमा पुगेका नेपालका लागि अमेरिकी राजदूत र्यान्डी डब्ल्यु बेरीलाई नेपाल आर्थिक समृद्धिको युगमा प्रवेश गरेकाले सबैको सहयोग र सद्भावको खाँचो परेको बताए ।
जलविद्युत, पर्यटन र कृषिमा आधारित उद्योग समृद्ध नेपालका प्राथमिक कार्यसूची रहेको उनको भनाइ छ । अध्यक्ष दाहालले भर्खरै मात्र राजदूतको जिम्मेवारी पाएर नेपाल आएका राजदूत बेरीलाई उनले भने– तपाईको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध अझैं प्रगाढ बन्ने मैले विश्वास लिएको छु ।
उनले नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय भएको पनि बताए । सो भेटमा दुई देशबीचको सम्बन्ध, नेपालमा अमेरिकी लगानी, आपसी सहयोग र सहकार्यबारे छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जानकारी गराएको छ ।
उक्त अवसरमा राजदूत बेरीले मिलिनियन च्यालेन्ज कर्पोरेसन (एमसिसि) मार्फत नेपालको पूर्वाधारमा लगानीका लागि स्थायी सरकार बलियो आधार भएको भन्दै देशको आर्थिक विकासका लागि अहिले उचित अवसर भएको र त्यसमा सफलता मिल्ने विश्वास व्यक्त गरे ।