बाजुरा, मङ्सिर १४ । शिक्षाको गुणस्तर सुधारका लागि बडिमालिका नगरपालिकाले विद्यालयस्तरीय शैक्षिक बहस शुरु गरेको छ ।
शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवाला निकायलाई सँगै राखेर समस्याको उठान, सवाल पहिचान र समाधानको विकल्पमा आधारित शैक्षिक बहस सञ्चालनमा ल्याएको हो । पहिलो चरणमा नगरक्षेत्रभित्रका आठ विद्यालयमा शैक्षिक बहस सञ्चालन गर्ने भएको छ ।
शिक्षासँग सरोकार राख्ने निकाय र स्थानीय सञ्चार माध्यमसँगको सहकार्यमा सार्थक छलफलका लागि शैक्षिक बहस चलाइएको सहास नेपाल सिफल्स परियोजनाका जिल्ला संयोजक रामबहादुर खत्रीले बताए ।
पहिलो चरणमा लक्ष्मी मावि जिल्ली, ज्ञानुदय मावि रजातोली, नेरा मावि जडागा, जाल्पा मावि पिनालेख, सत्यवादी मावि भौनेरामा शैक्षिक बहस कार्यक्रम चलाइएको छ भने अब मालिका मावि मार्तडी, कैलाश मावि मना र चोयाकोट माविमा यो बहस चलाइने नगरपालिकाले जानकारी गराएको छ ।
बहस कार्यक्रममा शिक्षक नियमित उपस्थित नभएको, भौतिक अवस्था दयनीय रहेको, अभिभावकको सहयोगी भूमिका नरहेको, छात्रामैत्री शौचालयको अभाव जस्ता समस्या भएको नगरपालिकाका उपप्रमख कविता विष्टले जनाइन् ।
नगरप्रमुख पदम बडुवालले जिल्लाको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले आवश्यक सहयोग प्रदान गर्ने बताए ।